Logo
Logo

ईश्वरले प्रधानमन्त्रीलाई झुक्याए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले २०७९ को बैशाखमा अवकाश पाउने हुन् । उनको कार्यकाल अझै १७ महिना बाँकी छ । तर, उनीपछि आईजिपी हुनका लागि अहिलेदेखि नै चर्काे चलखेल देखिएको छ ।

यसरी करिब डेढ वर्षअघि नै अस्वभाविक चलखेल गर्ने अधिकारी हुन् विश्वराज पोखरेल । उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत उनले यस्तो चलखेल गरेर आफ्नो लागि एआईजीको दरबन्दी थप गराएपछि प्रहरी संगठनमा तरंग मच्चिएको छ ।

गृह मन्त्रालयको प्रस्तावविना नै मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को प्रशासन समितिका अध्यक्ष रहेका उपप्रधानमन्त्री पोखरेलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बाईपास गरी यस्तो निर्णय गराएका हुन् । यसमा बादल समेत असन्तुष्ट रहेको स्रोत बताउँछ ।

उपप्रधानमन्त्री पोखरेलले आगामी चुनावमा आफुहरु निकट व्यक्ति आईजिपी हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याएर एआईजीको दरबन्दी थप्ने प्रयास गरेका हुन् । त्यो त गत बैशाखमै पोखरेललाई एआइजी बनाउन उनले मरिहत्ते गरेका थिए । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रधानमन्त्री ओलीलाई त्यसले संगठनमा ठूलो असर पार्ने भन्दै रोक्न सफल भएका थिए । अहिले महानिरीक्षक क्षेत्रीलाई समेत थाहै नदिई पोखरेलले यस्तो खेल खेलेका छन् ।

तर, प्रहरी महानिरीक्षक क्षेत्री रिक्त एआईजी पदमा तत्काल बढुवा प्रक्रिया अघि नबढाउने पक्षमा छन् । स्रोतका अनुसार भावी आइजिीका दाबेदार रहेका डिआईजीद्वय सहकुल थापा र धिरजप्रताप सिंह पनि पोखरेलको बढुवा रोक्न लागिपरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलकै आधारमा पोखरेलले दुई ब्याचलाई टपेर डिआइजीमा बढुवा भएका थिए । डेढ वर्षपछि आफु अनुकुल राजनीतिक अवस्था हुन नसक्ने भएकाले उनले दरबन्दी नै थपेर बढुवा भई आईजिपीको बाटो क्लियर गर्न लागेका छन् । बढुवा नै गर्ने हो भने एआईजीको अरु दरबन्दी थप्नपर्छ भनेर समेत लबिङ भइरहेको बालुवाटार स्रोत बताउँछ ।

तर, यसरी व्यक्तिका लागि दरबन्दी थप्ने र ब्याचमा एक्लो बढुवा गर्दा संगठनमा नकारात्मक सन्देश गएको प्रहरी अधिकारीहरु बताउँछन् । ‘यदी तीनै जनालाई सँगै प्रतिस्पर्धामा अघि बढाए उनीहरुबीच राम्रो काम गर्ने प्रतिस्पर्धा हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्,‘यसरी बढुवा गर्न थालियो भने प्रहरीमा काम होइन, चाकडी गर्नुपर्छ भन्ने मान्यता स्थापित हुन्छ ।

विवादका कारण एआईजीमा तत्काल बढुवा नगरी डिआइजीबाट बढुवा गर्न लागिएको छ । डिआइजीका आड पद रिक्त भएका छन् । प्रहरी समायोजनअघि नै सरुवा तथा बढुवा सक्नुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयले बढुवालाई तिव्रता दिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्