Logo
Logo

पुनःस्थापना र पुनर्निर्माणमा प्राधिकरणका उपलब्धिहरुबारे वेविनार हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर । भूकम्पपछिको पुनःस्थापना र पुनर्निर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न वेवमा आधारित सेमिनार (वेविनार) आयोजना गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाइहरु समेटेर विभिन्न सातवटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायहरुलाई बृहत् छलफल तथा परामर्शबाट टुंग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डा. चन्द्रबहादुर श्रेठले जानकारी दिए । उनका अनुसार विभिन्न विषयगत अध्यायहरु तयार गर्न प्राधिकरणका अधिकारीहरु एवं विज्ञहरु संलग्न रहेका कार्यसमूहहरु गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्धार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी छवटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले सोको अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सो सम्बन्धमा समेत सुझाव संकलन गरिनेछ ।

वेविनारको उद्घाटन शुक्रबार बिहान ९ बजे हुनेछ । पहिलो दिन निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुनेछ भने दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुनेछ ।

वेविनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहरु, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतका उपस्थिति हुने डा. श्रेठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्