काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहीद गंगालाल नेशनल हार्ट सेन्टरमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवालाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण कार्यक्रम सञ्चालन गरेको छ।

बैंकका अनुसार देशका विभिन्न स्थानबाट उपचारका लागि आएका आर्थिक तथा सामाजिक रूपमा कमजोर बिरामी र उनीहरूका कुरुवालाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अस्पतालमा उपचारका क्रममा पौष्टिक भोजनको आवश्यकता हुने अवस्थालाई ध्यानमा राख्दै बैंकले सहयोग गरेको जनाएको छ।
उक्त कार्यक्रम आरती भाेजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख सुशिल पौडेल र आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो।
कार्यक्रममा आरती भोजन परिवारका अध्यक्ष अर्यालले भोजन वितरण सेवा सञ्चालनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए। बैंकका ब्रान्डिङ तथा सिएसआर प्रमुख पौडेलले गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका थिए।
आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवालाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आएको छ। हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन्।
कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गरी समाजमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।














