Logo
Logo

अपाङ्गमैत्री सेवा दिन बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन


252
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस प्रकारको शाखाको विवरण बैंकहरुले वेबसाइटमा राख्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थालाई एक आपसमा सहकार्य गरी एटीएम लाउञ्ज भएका स्थानमा ब्रेल साइ कन्ट्रोल बटन्स र अडियो सपोर्टसहितको कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । यस प्रकारको एटीएमको विवरण पनि वेबसाइटमा राख्नुपर्नेछ ।

एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवा अपाङ्गता भएका व्यक्ति आफैले उपयोग गर्न नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेविट÷क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री ट्याक्टीकल फिचर राख्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त काममा लगाउन नपाउने व्यवस्था भएको छ । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानुन तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम अतिरिक्त परिश्रमिक प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्