Logo
Logo

ओली पथको अन्त्यः एमालेमा ओलीको बहिर्गमन र नयाँ शक्तिको उदय संकेत


441
Shares

कुनै बेला एमालेमा एउटै हुङ्कार थियो– ओली नै एमाले, एमाले नै ओली ! तर आज परिस्थिति बदलिएको छ । हिजो बालकोटको बार्दलीतर्फ हेर्दै ‘बा’को जयजयकार गर्नेहरू नै आज ‘अब तपाईंबाट पार्टी चल्दैन, छोड्नुस् !’ भन्न थालेका छन् । पार्टी पुनर्गठनको माग गर्नेहरूलाई तर्साउन ओलीले गुण्डुमा सचिवालय बैठक त बोलाए, तर त्यही बैठक उनीकै लागि आत्मघाती साबित भइदियो । चारैतिरबाट घेराबन्दीमा पर्दा पनि ओलीमा ‘बा’ को अहङ्कार र पदप्रतिको आशक्ति भने अझै मरेको छैन । अब ओलीसामु केवल दुईवटा विकल्प मात्र बाँकी छन्– आत्मआलोचनासहित पार्टी नेतृत्व हस्तान्तरण गरेर सम्मानजनक बिदाइ रोज्ने कि अपमानित भएर निस्किने ?

नेकपा एमालेभित्र यतिबेला पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको आवाज चर्को रूपमा उठेको छ, जसका कारण अध्यक्ष केपी शर्मा ओलीमाथि राजीनामा र बहिर्गमनको दबाब बढेको छ । नेताहरूको वरीयताक्रम, कार्यविभाजन र आगामी स्थानीय निर्वाचनको रणनीति बुन्न अध्यक्ष ओलीले आफ्नै निवास गुण्डुमा बोलाएको सचिवालय बैठकको मूल एजेन्डा नै अन्ततः उनकै बहिर्गमनको बहस बन्न पुग्यो ।

गत भदौ २३ यता ओलीले के गुमाएनन् ! हुँदाखाँदाको दुई तिहाइको प्रधानमन्त्री पद सडक आन्दोलनकै कारण गुम्यो । निर्वाचनमा पार्टीले लज्जास्पद पराजय मात्र भोगेन, झापा पाँचबाट आँफै पनि पराजित भए । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा हिरासतसमेत बस्नुप¥यो । उक्त मुद्दा अहिले अदालतमा दायर हुने क्रममा छ । त्यसमाथि, बालेन शाह नेतृत्वको सरकारले सम्पत्ति छानबिनका नाममा उनीमाथि अनुसन्धान गरिरहेको छ । यही बेला उनलाई पार्टी अध्यक्ष पद त्याग्न चर्को दबाब परेको छ । र, उनको बहिर्गमन निश्चितजस्तै भइसकेको छ ।

हिजो ओलीका लागि खम्बा बनेर उभिनेहरू नै आज उनलाई अध्यक्षको कुर्सीबाट गलहत्याउन कम्मर कसेर लागिपरेका छन् । चौतर्फी घेराबन्दीमा परेका ओलीको पक्षमा उभिने अहिले केवल दुई सारथि मात्र बाँकी देखिन्छन् । माओवादी कित्ताबाट आएका रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेतबाहेक अरु पदाधिकारी कोही पनि उनको बचाउमा लागेका छैनन् ।

अहिले अधिकांश एमाले नेताहरूको तयारी हेर्दा लाग्छ– सत्ताबाट जसरी ओलीको अपमानजनक बहिर्गमन भएको थियो, पार्टीबाट पनि उनको त्यसरी नै बिदाइ हुने देखिन्छ । जेन–जी आन्दोलनपछि गत फागुन २१ गते भएको निर्वाचनमा एमाले प्रत्यक्षतर्फ केवल ९ र समानुपातिकतर्फ १६ गरी २५ सिटमा खुम्चियो । वास्तवमा यो एमालेका लागि आत्मसमीक्षा गर्ने समय थियो । तर, अध्यक्ष ओलीले हारको जिम्मेवारी लिनुको साटो पार्टी पुनर्गठनको माग गर्नेहरूमाथि नै कारबाहीको डन्डा बर्साउने चेतावनी दिएका छन्, जसले पार्टीभित्र विद्रोहको ज्वाला थप दन्काइदियो । फलतः पार्टी सचिवालय बैठकमा पाँच उपाध्यक्षमध्ये चार जना विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीको चर्को विरोध मात्र गरेनन्, सिधै राजीनामा नै मागे ।

सचिवालयका अन्य सदस्यहरू पनि ओलीप्रति सकारात्मक देखिएका छैनन् । उनीहरूले पनि पार्टीको लज्जास्पद हारको जिम्मेवारी लिँदै अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने माग गरिरहेका छन् । उपमहासचिव योगेश भट्टराईले बैठकमा सिधै ‘अब तपाईंबाट पार्टी चल्दैन, राजीनामा दिनुस्’ भन्दै ओलीको खुला बहिर्गमन नै मागे । त्यस्तै, महासचिव शङ्कर पोखरेलले ‘राजीनामा’ शब्दै उच्चारण नगरे पनि घुमाउरो शैलीमा अहिलेकै परिस्थिति र अवस्थामा पार्टी अघि बढ्न नसक्ने भन्दै व्यापक समीक्षा र रूपान्तरणको आवश्यकता औँल्याए । नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको बहस तीव्र चलिरहँदा उपमहासचिव लेखराज भट्टले एउटा नयाँ र रणनीतिक प्रस्ताव अघि सारे । उनले रुपान्तरणको नारा मात्र लगाएर नहुने तर्क गर्दै यदि साँच्चिकै रूपान्तरण गर्ने हो भने ६० वर्ष नाघेका सबै नेताहरूले पद छाड्नुपर्ने र पार्टी नेतृत्व युवाहरूको हातमा सुम्पिनुपर्ने सुझाव दिए ।

चौतर्फी दबाबका बीच ओलीको बचाउमा भने केवल दुई जना मात्र देखिएका छन् । शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र शनिबार सचिव महेश बस्नेतले संकटको यस घडीमा नेतृत्वको रक्षा र संरक्षण गर्नु सबैको साझा कर्तव्य हुने जिकिर गरेका थिए । आफूविरुद्ध सचिवालयका अधिकांश नेताहरू उभिएपछि रक्षात्मक बनेका ओली बैठकमा निकै आक्रोशित मुद्रामा प्रस्तुत भए । उनले नेताहरूलाई आफूलाई धेरै नसम्झाउन चेतावनी दिँदै यसरी गलाएर आफूले नेतृत्व नछाड्ने अडान लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब बढिरहँदा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको कमान्ड सम्हाल्न तयार भएकी छन्। सक्रिय राजनीतिमा पुनरागमनका लागि उनले ‘अर्ली महाधिवेशन’को स्पष्ट अडान लिएकी छन्। भण्डारी कुनै पनि ‘सेकेन्ड म्यान’ वा आलंकारिक भूमिकामा सीमित हुन तयार छैनन्, उनले सिधै पार्टीको सर्वोच्च कमान्ड अर्थात् कार्यकारी नेतृत्व नै ताकेकी छन्। उनी केवल नेतृत्व मात्र होइन, पार्टीको तल्लो तहदेखि माथिल्लो कमिटीसम्मकै प्रतिनिधि र साङ्गठनिक संरचना नै फेर्ने दाउमा छन्। ‘अर्ली महाधिवेशन’को वैधानिक बाटोबाटै आफूलाई सम्झौताहीन नेतृत्वका रूपमा स्थापित गर्ने उनको रणनीति देखिन्छ । त्यसैले ओलीले तत्काल पद नछाड्ने अडान राखे पनि उनको बहिर्गमन भने निश्चितप्रायः बनेको छ ।

ओलीका कारण एकातिर पार्टीको आकार खुम्चिँदै जानु र अर्कोतिर वैकल्पिक राजनीतिको दबाब बढ्नुले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा एमालेको हविगत झनै खराब हुने स्पष्ट सङ्केत देखिइसकेको छ । यही बुझेर एमालेका दोस्रो पुस्ताका नेताहरू नेतृत्व परिवर्तनको महाअभियानमा कम्मर कसेर लागिपरेका छन् । यदि एमालेले बेलैमा नेतृत्व पुस्तान्तरण र पार्टी शुद्धीकरणको निर्मम बाटो रोजेन भने यसको हालत पनि इतिहासले बिर्सिएका अन्य दलहरू जस्तै हुने निश्चित छ । त्यसैले, अध्यक्ष ओलीले समयमै मार्गप्रशस्त गरेर आफ्नो बचेखुचेको साख जोगाउने कि पार्टीलाई इतिहासको गर्भमा विसर्जन गर्ने ? यही अनुत्तरित प्रश्नको जगमा एमालेको भविष्य अडिएको छ । अबको राजनीति दम्भ र अहङ्कारले होइन, सुशासन र जनविश्वासको जगमा मात्र अघि बढ्न सक्छ । यो यथार्थ बुझेर पनि ओली नेतृत्व हस्तान्तरण गर्न तयार नभएपछि नेताहरूले विद्रोह थालेका छन् । त्यसैले ओलीले आफ्नो हठ नत्यागे, पार्टी नेतृत्वबाट पनि उनको बहिर्गमन दुःखद र अपमानजनक हुने निश्चित छ । यी सबै घटनाक्रमको नैतिक जिम्मेवारी लिँदै उनले मार्गप्रशस्त गर्छन् वा दम्भकै जगमा पार्टीलाई थप संकटतर्फ धकेल्छन्, त्यो भने ओलीकै आगामी कदममा निर्भर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्