Logo
Logo

एमाले जोगाउन ओलीको बहिर्गमन अनिवार्य


शरद रिजाल

504
Shares


नेकपा (एमाले)को सचिवालय बैठकमा अधिकांश पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न सुझाएका छन् । कुनै बेला पार्टीमा एकल वर्चस्व कायम गरेका ओलीलाई पार्टीका आफ्नै निकटस्थ नेताहरूले पनि पद त्याग्न दबाब दिएपछि ओली यतिबेला पार्टीको सचिवालयमै अल्पमतमा परेका छन् । आफूसँगै पार्टीलाई पनि कमजोर बनाएका उनले अझै दम्भ प्रदर्शन गर्दै पद नछाड्ने अडान लिएपछि अपमानजनक तवरले बहिर्गर्मित हुनुपर्ने परिस्थिति निम्तिने आकलन गरिएको छ ।

यसअघि हतारिएर ११ औँ महाधिवेशन सम्पन्न गर्दै नेतृत्वमा तेहरिएका ओली महाधिवेशन सकिएको ६ महिना नपुग्दै पार्टीबाटै गलहत्त्याइने अवस्थामा पुग्नुले उनी पार्टी बाहिर मात्रै नभएर भित्रै पनि उनी चरम अलोकप्रिय भएको स्पष्ट हुन्छ ।

गत फागुन २१ को चुनावमा लज्जास्पद पराजय व्यहोरेपनि ओलीले त्यसको नैतिक जिम्मेवारी नलिएर उल्टै नेतृत्व मोह कायम राखेर पदमै रहन अनेकौँ जुक्ति लगाइरहेका छन् । निर्वाचन अघिसम्म ओलीलाई राजनेताको उपमा दिएका एमाले नेताहरू पनि यतिबेला ओलीको नेतृत्वमा पार्टी अघि बढ्नै नसक्ने जिकिर गर्दै नेतृत्व छाड्न दबाब बढाएका छन् । यो ओलीका लागि निकै दुर्दशापूर्ण अवस्था हो ।

कुनै समय नेपाली राजनीतिमा लोकप्रियताको शिखरमा रहेका ओली अहिले आफ्नै निकटस्थबाटै टाढिने अवस्था आउनु सामान्य होइन । पार्टीका बहुमत पदाधिकारीले नै एमाले जोगाउन ओलीको बहिर्गमन अनिवार्य रहेको बताएपछि उनीबाट अब एमाले अघि बढ्न नसक्नेमा सबै पदाधिकारी एक मत भइसकेका छन् । यसले ओली निकट समयमै एमाले नेतृत्वबाट विस्थापन हुने लगभग निश्चित भएको छ ।

ओलीको लोकप्रियताको ओरालो यात्रा तत्कालीन नेकपा विभाजनपछि सुरु भएको हो । उनले आफ्नो सत्ता स्वार्थ पूर्ति गर्न दुई ठूला कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमाले मिलाएर नेकपा गठन गरी पार्टीभित्र अन्ततः एकाधिकार लादेर निरकुंश शैलीमा अघि बढ्ने प्रयत्न गरे । परिणामतः दुई पार्टी मिलेर बनेको नेकपा तीन वर्षमै तीन टुक्रामा विभाजित हुन पुग्यो ।

त्यसकै दुष्परिणामस्वरुप मुलुकमा अस्थिरता हाबी भएर जेनजी विद्रोह हुँदै एमालेसहित समग्र वाम आन्दोलनले लज्जास्पद चुनावी पराजय व्यहोर्नुपरेको हो । भारतीय नाकाबन्दीको प्रतिवाद गरेर आर्जेको लोकप्रियता ओलीले नेकपा विभाजनकै समयमा जब भारतीय गुप्तचर प्रमुखलाई बालुवाटारमा प्रवेश गराएपछि उनको राष्ट्रवादी मखुन्डो उदांगिएको थियो ।

दुई दुई पटकको संसद विघटन र नेकपा विभाजन ओली शासनकालका बिर्सनै नसक्ने परिघटना हुन् । त्यसयता निम्तिएको जेनजी विद्रोह र एमालेको गम्भीर पराजय त्यही ओली प्रवृत्तिकै उपज हो ।

विगतमा अरू पार्टी नेतृत्वमा हुँदा नैतिकता खोज्ने ओलीले आफ्नो पालामा लज्जास्पद मत परिणाम ल्याउँदा पनि नैतिकता देखाउन सकेनन् । ६४ सालको निर्वाचनमा एमालेको पराजयपछि माधव नेपालले नैतिकता प्रदर्शन गर्दै पार्टी महासचिवबाट राजीनामा दिएका थिए । अहिले त्यो भन्दा कमजोर मतपरिणाम आउँदा पनि ओलीले नैतिक जिम्मेवारी लिँदै मार्गप्रशस्त गर्न समेत तयार नहुनुले उनको अराजनीतिक चरित्र प्रदर्शित गर्दछ । यसले उनमा अझै ‘म नै राज्य हुँ’कै शैलीमा चरम अहंकार र व्यक्तिवादी प्रवृत्ति व्याप्त रहेको प्रस्ट हुन्छ ।

सिंगै कम्युनिष्ट आन्दोलनमा नेतृत्व नछाड्ने महारोगले मुलुकको कम्युनिष्ट आन्दोलन पनि आक्रान्त छ । अनेकौँ प्रयत्न गरेर नेतृत्वमा पुग्ने, पद हत्याएपछि आजीवन नछाड्ने प्रवृत्ति नेपाली कम्युनिष्ट आन्दोलनमा ‘नानीदेखि लागेकै बानी’ हो । मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा पुग्दा पनि नेतृत्व नछाड्ने प्रवृत्ति एमालेमा ओली जस्तै अन्य कम्युनिष्ट पार्टीका शीर्ष नेतामा पनि अजपर्यन्त कायमै छ ।

जबजको पथप्रदर्शक सिद्धान्तमा अघि बढेको एमालेमा यस अघि लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्ने गरिएको थियो । ओली पनि नवौँ महाधिवेशनमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेरै नेतृत्वमा आएका हुन् । तर पार्टी नेतृत्वमा आएपछि स्वेच्छाचारी ढंगले अघि बढ्दै पार्टी स्थापनाकालदेखिका नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरूलाई बाहिरिन बाध्य पारेका थिए ।

पछिल्लो समय दशौं महाधिवेशनमा आफू विरुद्ध उम्मेदवारी दिएका भीम रावललाई पनि जिम्मेवारी नदिएर पार्टी छाड्न बाध्य पारे । ओलीले आफूमाथि चुनौती हुने ठानेर पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण रोकेर निषेधकारी रणनीति तय गरेका थिए । चर्को दबाबपछि केही समय अघि मात्रै विद्याको सदस्यता नवीकरण गर्न बाध्य भएका हुन् ।

अहिले पनि आफू विरोधीलाई किनाराकृत गर्ने प्रयत्न गरिरहेका छन् । तथापि, अब पार्टीमा उनको जोडबल चल्नेवाला छैनन् । बहुसंख्यक पदाधिकारीहरु ओलीको विपक्षमा उभिएपछि अल्पमतमा परेका उनी नेतृत्वबाट हट्नु शिवाय अरू उपाय छैन ।

यस बाहेक ओलीले पार्टीमा सम्पूर्ण अधिकार आफूमा केन्द्रीकरण गर्दै निरकुंश शैलीमा अघि बढेर ७० वर्षे उमेर हद र पार्टीका हरेक कमिटीमा दुई कार्यकाल भन्दा बढी रहन नपाउने प्रावधान खारेज गरेका थिए । उनकै नेतृत्वमा कुनै समय लोकप्रिय मत हासिल गरेको एमाले अहिले लज्जास्पद पराजय व्यहोरेर इतिहासकै कमजोर अवस्थामा पुगेको छ । यो दुर्दशापूर्ण स्थिति ओलीकै दम्भ र अहंकारकै उपज निम्तिएको हो ।

पार्टीमा निषेधकारी रणनीति तय गरेर अघि बढ्दा ओलीको नियति यतिबेला ‘घर न घाट’को अवस्थामा छ । हिजो आफूलाई निर्विकल्प ठान्दै स्तुति गाउनेहरू पनि आज उनको विरुद्धमा उभिएका छन् । विष्णु पौडेल, शंकर पोखरेल पृथ्बीसुब्बा गुरुङ जस्ता ओलीका सारथि यतिबेला एमाले जोगाउन नेतृत्व परिवर्तन अनिवार्य रहेको निष्कर्षमा पुगेका छन् ।

यो सबै विधि प्रक्रिया विपरीत निरकुंश शैलीमा अघि बढ्ने ओली कृत्यकै परिणति हो । यसले सत्ता र शक्ति अस्थायी हुने सन्देश दिँदै विधि प्रक्रिया अंगीकार गर्दै आफ्नो गरिमा कायम राख्न नसके समयक्रमा पार्टीबाट निमर्मतापूर्वक बाहिरिनुपर्ने शिक्षा सबै राजनीतिक नेतृत्वलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्