Logo
Logo

ट्रान्सपरेन्सीको ऐनामा नेपाल


- दृष्टि न्युज/संवाददाता


समाजमा ब्याप्त भ्रष्टाचार तथा आर्थिक अनियमिततालाई रोक्नका लागि नागरिकहरुलाई संगठित गरी शासकहरुलाई पारदर्शी ढंगले काम गर्न प्रेरित गर्दै विश्वभर सुशासन कायम गराउने उद्देश्यले स्थापना भएको ट्रान्सपरेन्सी इन्रनेशनलले हालै सार्वजनिक गरेको ग्लोबल करप्सन ब्यारोमिटर २०२० ले नेपालमा भ्रष्टाचारको स्तर अकल्पनीय ढंगले बढेको तथ्य उजागर गरेको छ । नेपाल सरकारका तर्फबाट त्यसलाई अस्वीकार गरिए तापनि आम नागरिकको भोगाईमा आधारित सर्वेक्षणबाट प्राप्त नतिजा र त्यसलाई विभिन्न तहमा गरिने पुनरावलोकन र यो विश्व संस्थाले हालसम्म आर्जन गरेका ख्याति तथा यसको साखका कारण यसले उजागर गरेको तथ्य सत्यबाट टाढा नभएको आम विश्वास छ । सत्ताले सत्य बोल्दैन र सत्य पचाउन सक्दैन भन्ने कथन संसारभर प्रचलित छ । नेपाल त्यसको अपवाद रहन सक्दैन् । संघीय सरकारका कार्यालयदेखि स्थानीय सरकारका कार्यालयमा नियम बमोजिम हुने काम गर्न गराउन पनि घुस दिनु पर्ने र घुस दिए पछि जस्ता काम पनि हुँदै आइरहेकोले घुसखोरी,भ्रष्टाचार,आर्थिक अनियमितता, ढिलासुस्ती,अहिलेको शासन शैलीका परिचायक भएका छन् । भलै राजधानीको सिंहदरबार, प्रदेश सरकार र गाँउ तथा शहरी क्षेत्रमा स्थानीय तहमा राज गर्ने शासकहरुले यसको विरोध गरेका नै किन नहुन् ।

आफ्नो कार्यकालमा भ्रष्टाचार बढेको कुरा सुन्नासाथ प्रधानमन्त्री केपी शर्मा ओली उतर्सिनुहुन्छ । लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा निष्ठापूर्वक लागेको,समाजवादी र साम्यवादी राज्य स्थापनाका लागि जेल बसेको,आफ्ना पारिवारिक सन्तति वा उत्तराधिकारीको लागि सम्पत्ति संचय गर्नुपर्ने अवस्था पनि नरहेकोले उहाँले भ्रष्टाचार नदेख्नु स्वभाविक हो । पहिलो कार्यकालमा राजनीतिक षड्यन्त्रको शिकार भएर अपमानित तवरले सत्ताबाट हटाइनुभएका प्रधानमन्त्रीले २०७४ सालमा दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि समाजमा ब्याप्त भ्रष्टाचार र भ्रष्ट मनोवृत्तिलाई जरैदेखि उन्मूलन गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभएको हो । २०७५ सालमा दुर्गम कर्णाली अञ्चलको स्वर्ग मानिने सुन्दर रारा तालको डिलमा बसेर नयाँ बर्षको शुभकामना सन्देशसहितको संबोधन गर्दा उहाँले सरकारले भ्रष्टाचारविरुद्ध शून्यसहनशीलताको नीति लिएको र भ्रष्टाचारीविरुद्ध निर्ममतापूर्वक जाईलाग्ने अभिब्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीको सपथ लिएपछि संसदमा गर्नुभएको संबोधन र रारातालको सन्देशलाई मनन गर्दै संघीय देखि प्रदेश र स्थानीय तहका कार्यालयहरु ‘म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार हुन दिन्न’ भन्ने सन्देश ढोकाढोकामा सजाइका छन् । तर यथार्थ के छ भने प्रधानमन्त्रीको यो ‘महानवाणी’ को धज्जी उडाउने काम भएको छ ।

प्रधानमन्त्री ओलीले सत्ताको उन्मादमा आफ्नो सदासयताको दुरुपयोग पनि हुन सक्छ भन्ने कुरा बिर्सनुभएको छ । नेपालको राजनीतिक व्यवस्था खर्चिलो छ । संघीय संरचनाको थालनीसँगै हामीले धेरै नेता पाल्नुपर्ने अभ्यास गरेका छौ । नेता, नेताको घर खर्च,पार्टी खर्च,चुनाव खर्च र चुनाव जितेपछि अर्को चुनावको लागि खर्च सञ्चय गर्ने प्रवृत्तिले सबै नेतालाई भ्रष्ट बन्न प्रेरित गरेको छ । प्रधानमन्त्री ओलीले आफ्ना कुनै पनि नेता र कार्यकर्ताको जीवन शैली र कार्यशैली हेर्ने प्रयाससम्म गर्नुभएको छैन् । अन्यथा, न कुनै रोजगारी, न कुनै उद्यम केही बर्षपहिलेसम्म दुई छाक खान मुस्किल हुने, सफा लुगा लगाउन नसक्नेहरु रातारात कसरी आलिशान बंगलाका मालिक भए ? विलाशी पजेरो र गाडीका कसरी धनी भए ? एक कम्युनिष्ट नेताका नजरबाट त्यसलाई हेर्ने हो भने भ्रष्टाचार ‘म’ ‘म’ भन्नुपर्ने अवस्था छ ।

भ्रष्टाचारले मानिसको व्यक्तित्वलाई कसरी समाप्त पार्दछ भन्ने कुरा प्रधानमन्त्री ओलीले नेपालकै इतिहासबाट शिक्षा लिन सक्नुहुन्छ । विगतमा एमालेले उठाउदै आएको लाउडा र धमिजा काण्डले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक कद र नेपाली कांग्रेसलाई पुर्याएको क्षति,खुमबहादुर खड्का र चिरञ्जीबी वाग्लेजस्ता नेताको राजनीतिक जीवन समाप्त पारेको घट्नाबाट शिक्षा लिन नसक्ने हो भने न्यारोबडी,बाइडबढी,यति होल्डिस्,ओम्नी समूह, ३३ किलो सुन जस्ता प्रकरणले प्रधानमन्त्री ओली र उहाँले नेतृत्व गरेको पार्टीलाई कुनै दिन अहिले कांग्रेस समाप्त भएजस्तै समाप्त पार्ने निश्चित छ । नेपालको सीमापारिको बिहारको चारा घोटालाले लालु यादवको राजनीतिमा ल्याएको संकट, बोफोर्स काण्डले तात्कालीन प्रधानमन्त्री तथा कांग्रेस आई नेता राजिव गान्धीको राजनीति र व्यक्तिगत जीवन तथा पार्टीको छविमा पारेको असर, भारतीय प्रधानमन्त्री पिभीनरसिंह रावको जेलमा भएको दुःखद निधनसहित मलेसियाका नेता अब्दुलरज्जाक, थाईलैण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा,फिलिपिन्सका मार्कोसका जीवनबाट प्रधानमन्त्री ओलीले शिक्षा लिनुपर्दछ ।

भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन पद्धतिको स्थापनामा विश्वका १०० भन्दा बढी मुलुकमा कार्यरत रहेको विश्वको प्रतिष्ठित संस्थाले हाम्रै शासन र प्रशासन भोगिरहेका नेपाली जनतासंग सर्वेक्षण गरी सार्वजनिक गरेको प्रतिवेदनलाई भ्रष्टाचारमा मुछिएको सरकारका मन्त्रीहरुले अस्वीकार गर्दैमा त्यसलाई बाँकी विश्वले पत्यार गर्न सक्दैन् । जीवनको उत्तराद्र्धमा पुगिसक्नुभएका प्रधानमन्त्री ओलीले भ्रष्टाचारको कारण खोजी त्यसको निराकरण पनि गर्नुपर्दछ । तर त्यसपूर्व भ्रष्टाचारमा संलग्न आफू निकटहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्दछ । जनताले समाजमा वर्ग विभेद सिर्जना गर्ने तथा देश र जनताको उन्नतिमा लाग्ने स्रोत र साधन दुरुपयोग गर्ने भ्रष्टाचारीमाथि कारबाही खोजेका छन् । प्रधानमन्त्री जस्तो व्यक्ति भ्रष्टाचारीको रक्षाकवच बनेर उत्रिदा समस्त नेपालीको शीर निहुरिएको छ । प्रधानमन्त्री ओलीले त नेपालीको शीर उचो बनाउन भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने कसम खानुभएको थियो । यस्तो अनर्थ कसरी हुन गयो ?

प्रतिक्रिया दिनुहोस्