काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गलत दिशामा गएमा वा काममा ढिलासुस्ती भए घण्टी बजाएर सचेत गराउन निजी क्षेत्रलाई आग्रह गरे ।

कानुन निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै ध्यानाकर्षण गर्न उनले आह्वान गरेका हुन् । “हामी हाम्रै पालामा देशमा सुशासन कायम गर्नुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ र समृद्धि हासिल गर्नुपर्छ,” उनले भने । अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गरी लगानीमैत्री वातावरण बनाउन, विदेशिएका युवालाई स्वदेश फर्काउने र नेपाललाई बस्न तथा लगानी गर्न उपयुक्त देश बनाउन जोड दिए ।
उनले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर, पाथीभरा लगायतका धार्मिक तथा प्राकृतिक गन्तव्यहरूलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरी नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सकिने बताए । संविधानका आवश्यक संशोधनमा पनि ठोस सुझाव दिन उनले आग्रह गरे ।














