काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी.रोजर्स तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्न लागेकी उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन् । नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।
उनकै सम्मानमा दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त समिट आयोजना गर्न लागेको हो । रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकी विदेश मन्त्रालयको मर्यादाक्रममा उपविदेशमन्त्री (अन्डर सेक्रेटरी अफ स्टेट) को पद असिस्टेन्ट सेक्रेटरी भन्दा माथि र डेपुटी सेक्रेटरी भन्दा तल रहन्छ । रोजर्सको यो भ्रमण हुनुअघि गत वैशाख महिनामा अन्य दुई वरिष्ठ अमेरिकी अधिकारीहरूले पनि छुट्टाछुट्टै रूपमा नेपालको भ्रमण गरेका थिए ।














