काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगरे स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

शनिवार नेपाली काँग्रेसको भातृसंघ नेपाल थारु सङ्घको महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् ।
सभापति थापाले भने, ‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौँ, लिडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौँ । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लिडरशिप एकेडेमीमा भर्ना हुनै पर्छ र एउटा कोर्स पूरा गर्नै पर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ ।’
उनले नेतृत्व विकासका लागि लिडरशिप एकेडेमीको छुट्टै संरचना स्थापना गरिएको स्पष्ट गरेका थिए ।














