
काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ ।
आजको संसद बैठकमा प्रतिनिधिसभा निमामावलीको नियम ५६ मा रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् ।
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोष्ट्रमबाट भन्नुभयो । त्यो प्रतिनिधिसभा नियमावली विपरीत छ । म यसमा निमापत्ति गर्न चाहन्छु र स्वयम सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु ।’
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रश्न सोध्नका लागि तीन दिन अगावै प्रश्न सभामुखलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । तर, आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा सांसदहरूका प्रश्नको जवाफ दिन आफु तयार रहेको भन्दै केहि सांसदको प्रश्नको जवाफ दिएर हिँडे ।
त्यसक्रममा सभामुख अर्यालले तीन दिन अगावै प्रश्न टिपाउने प्रावधान नरहेको भनेका थिए । सभामुखले प्रतिनिधिसभा नियमावलीमा रहेका कतिपय व्यवस्थाका सन्दर्भमा गरेको व्याख्यालाई लिएर एमालेले नियमापत्ति गरेको हो ।














