
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बजारमा २५ खर्बको बजेट आउँछ रे भन्ने व्यापक हल्ला थियो । तर, अन्तिममा बजेट आयो २१ खर्बको हाराहारीमा । धरैले बजेट ठूलो आयो, महत्वकांक्षी आयो भनियो पनि । आकारमा बजेट त्यस्तो महत्वकांक्षी होइन ।’
जिडीपीको सापेक्षतामा सानो आकारको बजेट ल्याएको उनको जिकिर छ । बजेटले ऋण थप्यो भन्ने विषयमा स्पष्ट पार्दै अर्थमन्त्रीले भने, ‘भूकम्प र कोरोना महामारीको समयमा हाम्रो ऋण बेस्सरी बढेकै हो । त्यसबेला भन्दा अहिले कममै छौँ । यसपालि हामीले ४१० अर्ब आन्तरिक ऋण २४७ अर्ब बाह्य ऋण लिएका छौँ । यो लिएको ऋण पहिले थोपरिएको ऋणमै जाने रहेछ ।’
अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । अर्को वर्ष तयारीका साथ नयाँ विधि अपनाइने उनले बताए । अर्थमन्त्रीका अनुसार यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने भएको छ । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको छ ।














