Logo
Logo

धवलशमशेरले छोडे राप्रपा, राष्ट्रवादी शक्ति निर्माणमा लाग्ने


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले देशमा नयाँ र विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणका लागि नयाँ अभियानको घोषणा गरेका छन् ।

बिहीबार अपिल जारी गर्दै राणाले राप्रपाको वर्तमान बाटो र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीतिक यात्रा सुरु गर्ने बताएका छन् ।

डा. राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गरे तापनि पार्टी सफल हुन नसकेको बताएका छन् । उनले भनेका छन्, ‘विरोधाभास र सैद्धान्तिक द्विविधाका बिच गलत बाटोमा हिँड्ने र हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो ।’

राप्रपाभित्रै रहेकाहरू कसैसँग व्यक्तिगत वैरभाव नरहेको समेत उल्लेख गर्दै उनले शुभचिन्तक र सहयात्रीहरूको सल्लाहबमोजिम आफूले आगामी बाटो तय गरेको बताएका छन् । उनले देश–विदेशमा रहेका नेपालीहरूबाट प्राप्त सुझावका आधारमा यो कदम चालेको पनि उल्लेख गरेका छन् ।

उनले देशलाई माया गर्ने, समृद्धिको चाहना राख्ने राष्ट्रवादी र नवयुवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान समेत गरेका छन् ।

‘स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिन चाहने हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई आह्वान गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्