काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको’ अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि मन्त्रालयले प्रष्टीकरण दिएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विज्ञप्ति जारी गर्दै उक्त विषयमा प्रष्ट पारेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारत सिमाना अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ। ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन” (सीमापार अतिक्रमण) तथा दशगजा अतिक्रमणका समस्याहरू विद्यमान छन्।’














