Logo
Logo

लाहुरे मैले रोजेकी होइन-ज्योति मगर, गायिका


- दृष्टि न्युज/संवाददाता


चर्चित गायिका ज्योति मगरको दिनचर्या फेरिएको छ । दिउँसो १२ बजेसम्म सुत्ने बानी समेत उनीले सुधार गरेकी छन् । हिजोआज उनी ६ बजे उठ्छिन् र डान्स रिर्हसल गर्छिन् । अरुबेला उनी गीतको अभ्यास गर्थिन् । ‘मेरो त बानी नै सुध्रियो’ डान्स रियालिटी शो ‘डान्सिङ स्टार नेपाल’मा उत्कृष्ट पाँच पुगेकी गायिका ज्योतिले भनिन्, ‘डान्स गर्नु सजिलो छैन । तैमाथि रियालिटी शोमा कम्पिटिशन झनै गाह्रो छ ।’ नेपाली सांगीतिक क्षेत्र ग्ल्यामरस गायिकाको रुपमा चिनिएकी ज्योति कुसल डान्सर पनि हुन् भन्ने यसै प्रतियोगिताबाट देखाएकी छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘डान्सिङ स्टार नेपाल’ हेर्ने कतिपयले ‘ज्योतिले परिचय बदलिइन्’ भन्ने प्रतिक्रियासमेत दिन थालेका छन् । तर, ज्योति भन्छिन्, ‘मेरो परिचय बदिलएको होइन, थपिएको हो, म त्यही गायिका ज्योति हुँ ।’ सेलिब्रेटीहरुको कम्पिटिशन हुने ‘डान्सिङ स्टार नेपाल’मा ज्योति र उनको जोडी लाहुरे सिंहको डान्सलाई दर्शकले रुचाएका छन् । यिनै ग्ल्यामरस गायिका ज्योति मगरसँग एमपी सुब्बाको जम्काभेट :

डान्स कम्पिटिशनमा जमाइरहनुभएको छ होइन त ?

अलि अलि जमाइएको छ । उत्कृष्ट पाँचमा परेकी छु । यहाँसम्म आइपुग्नु पनि मेरो लागि खुसीको कुरा हो । तर, अझै अगाडि बढ्ने प्रयास गर्दैछु ।

गीतसंगीतमै व्यस्त हुनुहुन्छ । डान्स रियालिटी शोमा कसरी पुग्नुभयो ?

आयोजकले अफर गरेर गएकी हुँ । अर्को कुरा, लकडाउनले फुर्सद बनाएको अवस्थामा त्यतिकै बस्नुभन्दा बिग रियालिटी शोमा भाग लिएर नयाँ अनुभव गरौँ भनेर पार्टिसिपेन्ट भएकी हुँ ।

कोरोनाका कारण लकडाउन नभएको भए जानुहुन्नथ्यो ?

लकडाउन नभएको भएपनि जान्थे किनकि, नेपालमा पहिलोपटक यस्तो किसिमको रियालिटी शो भएकाले नयाँ अनुभवका लागि पनि जान्थेँ । तर, लकडाउनले सहज बनायो ।

राम्रो नाच्नु हुँदोरैछ, पहिले पनि नाच्नुहुन्थ्यो ?

गीत गाउँदा स्टेजमा नाच्थेँ । म्युजिक भिडियोहरुमा पनि नाच्दै आएकी हुँ । यसरी कम्पिटिशनमै चाहिँ नाचेकी थिइनँ । तर, नाच्न गाह्रो हुँदोरहेछ । गाउँदै नाच्ने बानी परेको मान्छेलाई स्टेपमा नाच्नुचाहिँ साह्रै गाह्रो रहेछ ।

पहिलोपटक प्रतियोगी भएर स्टेजमा डान्स गर्दा नर्भस हुनु भएन ?

नर्भस भन्दापनि सुरुमा ‘बोर’चाहिँ भयो । आउटडोरमा गाउँदै डान्स गर्ने बानी परेको मलाई स्टुडियोभित्र डान्स गर्दा यो के गर्दैछु भन्ने लाग्यो ।

तपाइँसँग डान्स गर्ने लाहुरे जोडी आफैँले रोज्नुभएको हो ?

मैले रोजेकी होइन, आयोजकले नै जोडी मिलाइदिएको हो । त्यहाँ हामीले भनेको केही पनि लाग्दैन । तर, लाहुरेसँग जोडी सुहाएको छ रे ।

तपाइँका पोष्टहरुमा पहिले प्राय नराम्रा कमेन्ट्सहरु बढी आउँथ्यो । अहिले त राम्रा–राम्रा कमेन्ट्स आउन थालेका छन् नि ?

हो, तर नराम्रो कमेन्ट्स आउँदा पनि आत्तिइनँ र, अहिले राम्रो कमेन्टे्स आउँदा पनि मात्तिएकी छैन । म दुःखमा आत्तिने र सुखमा मातिने परिनँ ।

‘डान्सिङ स्टार नेपाल’ जित्छु जस्तो लागेको छ कि छैन ?

भोटिङ र पावर भोटिङको कुरा हुन्छ । राम्रो नाचेर, आत्मविश्वास भएरमात्र हुन्न । मैले जित्नैपर्छ भन्ने पनि छैन । जित्न सकिनँ भने असफल हुने होइन । यो मेरो लागि पहिलो अनुभव हो । मैले त जितिसकेकी छु ।

पर्फमेन्सलाई पनि हेरिन्छ होला ?

यहाँ पर्फमेन्स भन्दा स्टारडम र भोट पावर मापन हुन्छ । ज्योतिले जति प्रशान्त ताम्राकारले नाच्न सक्दैन । तर, स्टारडमले गर्दा उहाँ पार्टिसिपेन्ट हुनुभयो । ‘डान्सिङ स्टार नेपाल’ छमछमीजस्तो नाचेर जितिने प्रतियोगिता होइन । ‘डान्सिङ स्टार नेपाल’मा स्डारडम र भोट पावरले जितिने हो ।

रियालिटी शो ले गर्दा तपाइँको गायन प्रभावित भएको छैन ?

मैले आफैले प्रभावित गरेकी छु । रियालिटी शोमा सहभागी भएपछि गीत रेकर्डिङ, भिडियो सुट सबै रोकेकी छु । अहिले मेरो ध्यान ‘डान्सिङ स्टार नेपाल’मा मात्रै छ ।

यसपालीको मंसिर पनि जानै लाग्यो, अब त सोच्ने होइन ?

यसपाली त डान्स कम्पिटिशनमै व्यस्त भएर सोच्दै भ्याइएन । विवाह गर्छु भनेर मैले सिरियसली सोचेकी पनि छैन । त्यही भएर अहिलेसम्म सिंगल नै छु ।

फिल्ममा अभिनयको अफर आयो भने गर्नुहुन्छ ?

अफर आइसकेपछि सोच्नुपला ।

प्रतिक्रिया दिनुहोस्