Logo
Logo

हिमालय एअरलाइन्सले काठमाडौँ-शेन्जेन सिधा उडान सुरु गर्दै


0
Shares

काठमाडौँ । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले आगामी जुन ४, २०२६ देखि काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेन सहरबीच सिधा उडान सुरु गर्दैछ ।

कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलका लागि साप्ताहिक रूपमा दुईवटा सिधा उडान सञ्चालन गरेर आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्न लागेको हो। नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट यस ऐतिहासिक उपलब्धिलाई निकै महत्त्वपूर्ण मानिएको छ।

कम्पनीले सार्वजनिक गरेको उडान तालिका अनुसार काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार राती ९:५० बजे उडान प्रस्थान गर्नेछ भने उक्त जहाज भोलिपल्ट बिहान ०४:३० बजे शेन्जेन पुग्नेछ।

त्यसैगरी शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार बिहान ०५:५५ बजे प्रस्थान गरी सोही दिन बिहान ०९:३५ बजे काठमाडौँ अवतरण गर्नेछ । हाललाई हप्ताको दुई उडानबाट सेवा सुरु गर्न लागिए पनि आगामी दिनमा बजारको मागका आधारमा उडान सङ्ख्या थप्दै जाने कम्पनीको योजना रहेको छ।

नयाँ उडान सेवाप्रति उत्साह व्यक्त गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले चीनका नयाँ गन्तव्यहरू खोज्दै नियमित उडान सञ्चालन गर्न कम्पनीले सधैं उल्लेखनीय योगदान दिएको बताए । यो नयाँ रुटले दुई देशका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने तथा यात्रुहरूलाई उच्च सुरक्षा मापदण्डका साथ आरामदायी यात्राको विकल्प दिने उनको भनाइ छ । यस उडानको माध्यमबाट नेपाल र चीन दुवै देश लाभान्वित हुने अपेक्षा गरिएको छ।

सन् २०१४ मा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र नेपालको यती वल्ड इन्भेस्टमेन्ट प्रा. लि.को संयुक्त साझेदारीमा स्थापित हिमालय एअरलाइन्स्सँग हाल चारवटा एयरबस विमानहरू रहेका छन् ।

हाल मध्यपूर्व र दक्षिण एसियाका विभिन्न देशहरूमा उडान भर्दै आएको यस कम्पनीले हवाई सुरक्षा र गुणस्तरका लागि विभिन्न आईएसओ र आईओएसए प्रमाणीकरण समेत प्राप्त गरिसकेको छ। यस ऐतिहासिक उडानका लागि यात्रुहरूले एअरलाइन्स्को टिकटिङ काउन्टर, आधिकारिक ट्राभल पार्टनर, आधिकारिक वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्