
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले प्रदेश गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रममा हालसम्म सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिका, अपिहिमाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ । साथै सडक यातायात गुरुयोजनाअन्तर्गत प्रदेश लोकमार्ग तथा सहायक मार्गहरूको स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।
गरिबी न्यूनीकरणलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ। यसअन्तर्गत ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, शिखर नगरपालिका, त्रिवेणी नगरपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका मा लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ ।
शिक्षा, स्वास्थ्य र पोषणसँग जोडेर ती क्षेत्रमा सघन रूपमा गरिबी न्यूनीकरण कार्यक्रम लागू गरिने सरकारको योजना छ । यस्तै, प्रदेश सरकारले रोजगारीका अवसर विस्तार गर्दै युवा पलायन रोक्न आवश्यक पहल गर्ने नीति पनि अवलम्बन गरेको छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ














