काठमाडौं । पूर्वगृहमन्त्री तथा ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङमाथिको अनुसन्धान सकिएको छ। सरकारद्वारा गठित छानबिन समितिले अनुसन्धान कार्य सम्पन्न गरेको समितिका प्रवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।
समितिले गुरुङको सम्पत्ति, उनले तिरेको कर तथा अन्य वित्तीय विवरणहरूको अध्ययनका लागि जेठ ४ गतेदेखि कार्य प्रारम्भ गरेको थियो। १५ दिनको कार्यावधि पाएको समितिको म्याद यही जेठ १९ गते मंगलबार सकिँदैछ।
पूर्वगृहमन्त्री गुरुङमाथि गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। ‘जेनजी आन्दोलन’ यता उनले गरेको सेयर कारोबार तथा जग्गा खरिद शंकास्पद देखिएको, साथै निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री भएपछि पेस गरेको विवरणमा भिन्नता पाइएको थियो।
त्यस्तै, सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा रहेका व्यवसायी दीपक भट्टसँग समेत उनको व्यावसायिक साझेदारी देखिएपछि उनीमाथि छानबिन अघि बढाइएको थियो।














