Logo
Logo

अपराध महाशाखामा चोरीका गाडी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ मंसिर । मीनभवनस्थित महानगरीय अपराध महाशाखा परिसरमा दुई वटा नयाँ गाडी राखिएका छन् । ती गाडी प्रहरी अधिकारीका होइनन् , केही दिनअघि महाशाखाले बरामद गरेका गाडी हुन् ।

भारतबाट तस्करी गरी ल्याएको आशंकामा महाशाखाले एउटा फर्चुनर र अर्काे होन्डाको कार बरामद गरेको हो । तर,दुवै विवरण प्रहरीले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार फर्चूनर कपनबाट तथा होन्डा कार सानेपाबाट बरामद भएको हो ।

रमाइलो त के छ भने यी कार कसको हो भन्ने समेत खुलाइएको छैन । कार चोरी तस्करी गर्नेलाई उन्मुक्ति दिनका लागि विवरण गोप्य राखिएको महाशाखा स्रोत बताउँछ । कार बरामद गर्दा कम्तीमा चालक पक्राउ पर्नुपर्ने भएपनि यसलाई बेबारिसे बनाएर राजश्व अनुसन्धान विभागमा बुझाउन लागिएको छ । ‘महाशाखामा आजभोलि यस्तो धेरै धन्दा चलिरहेका छन्,’ एक प्रहरी भन्छन्,‘कतिपय हुन्डी कारोबारीलाई समेत केही समय पक्राउ गरेर छाडिदिने गरिएको छ ।’

नेपालमा यसरी भारतबाट गाडी चोरेर ल्याई बेच्ने ठूलो समूह छ । खासगरी काठमाडौंका ग्यारेज सञ्चालकहरु यस्तो धन्दामा छन् । उनीहरुले प्रहरी अधिकारीसँग समेत सेटिङ मिलाएर यस्तो काम गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्