
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन चार मन्त्रीको नाम सिफारिस गरेको छ ।
आज चार मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिस गरेको हो । जसमा गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्री सिफारिस भएका छन् ।
खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन् । एमालेले दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको एमालेका एक प्रदेश सभा सदस्यले बताए ।
कांग्रेससँगको सत्ता साझेदारी तथा सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । हाल एमालेबाट सरकारमा सहभागी भएका भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् ।














