Logo
Logo

सम्पत्ति छानबिन आयोग मान्दिनँ र बयान पनि दिन्नँ : ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले नयाँ दल र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए ।

सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको भन्दै उनले यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए । उनले भने, ‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन । यो पूर्वाग्रहको पोको हो ।’

साथै उनले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन पनि चेतावनी दिए । नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उनले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ‘अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गरे ।

‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु, समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला । सधैँ एउटै परिस्थिति रहँदैन । राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए,’ उनले भने, ‘यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्