Logo
Logo

विश्वकप जित्न सक्ने ५ देश, मेस्सी, रोनाल्डो र नेइमारको चान्स कति ? (भिडिओ रिपोर्ट)


315
Shares

यसपालि अर्जेन्टिनाले आफ्नो विरासत जोगाउँदै उपाधि रक्षा गर्ला कि फ्रान्सले पुनः विश्व फुटबलको साम्राज्य खडा गर्ला ? के पोर्चुगलले आफ्नो स्वर्णिम पुस्ताको बलमा नयाँ इतिहास लेख्दै विश्वविजेता बन्ने सौभाग्य पाउला ? अथवा, पाँच पटकको कीर्तिमानी विजेता ब्राजिलले २४ वर्ष लामो खडेरी तोड्दै आफ्नो गुमेको साम्राज्य फिर्ता ल्याउला ? या त स्पेनको युवा र जोसिलो टोलीले विश्वमञ्चमा सनसनी मच्चाउला ?

फिफा विश्वकप २०२६ को महाकुम्भ सुरु हुन अब केही दिन मात्र बाँकी छ । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा जुन ११ बाट सुरु हुने यस ऐतिहासिक प्रतियोगिताका लागि मैदान उत्रिने ४८ राष्ट्रहरू अन्तिम तयारीमा छन् । यसपटक उपाधिको दाबेदार अनेकौँ भएपनि यस पटक सुनौलो ट्रफी चुम्ने प्रवल सम्भावना बोकेका पाँच प्रमुख टोलीहरूबारे चर्चा गर्नेछौँ ।

पहिलो नम्बर छ– फ्रान्स । विगत लामो समयदेखि विश्व फुटबलमा आफ्नो जबर्दस्त प्रभुत्व कायम राख्न सफल टोली हो– फ्रान्स । सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सलाई यसपटक पनि धेरैले उपाधिको दाबेदारको रुपमा हेरेको छ । फ्रान्सको बलियो पक्ष भनेको आफ्नो खेल जीवनकै सर्वश्रेष्ठ लयमा रहेका केलियन एमबाप्पे यो टोलीका मुख्य हतियार हुन्, जसले चार वर्षअघि कतार विश्वकपको फाइनलमा अर्जेन्टिनविरुद्ध ह्याट्रिक गरेका थिए ।

ओसमान डेम्बेलेजस्ता विष्फोटक विङ्गरको साथले फ्रान्सेली टोलीलाई अझ बलियो बनाएको छ । एम्बाप्पे, डेम्बेले र युवा स्टार माइकल ओलिस जस्ता तीव्र गतिका खेलाडीको काउन्टर–अट्याकमा विपक्षी डिफेन्सलाई क्षणभरमै ध्वस्त पार्न सक्ने खुबी छ । यो कम्बो फरवार्ड लाइन रोक्न विपक्षी टोलीलाई हम्मेहम्मे पर्नेछ । साथमा मिडफिल्डर कान्टे विपक्षी टोलीको बल खोस्न र पास मिलउन माहिर छन् । यीनै हतियारको बलमा फ्रान्समा तस्रोपटक च्याम्पियन बन्न दौडमा छ ।

उपाधि दाबेदारको दोस्रो नम्बरमा छ– स्पेन
सन् २०२४ को युरोपेली च्याम्पियन स्पेन हालको अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा परिपक्व र सुगठित फुटबल खेल्ने टोली मानिन्छ । प्रशिक्षक लुइस डे ला फ्युन्टेको कमाण्डमा रहेको टिकी–टाका शैलीमा खेल्ने स्पेनले आक्रमण शैली अपनाएको छ । स्पनेको सबैभन्दा बलियो पक्ष भनेको १८ वर्षीय विङ्गर लामिन यामल हुन्। बार्सिलोनालाई घरेलु लिग जिताउन मुख्य भूमिका खेलेका यामल युरो २०२४ पछि विश्व फुटबलकै सबैभन्दा खतरनाक आक्रामक हतियारका रूपमा उदाएका छन्। मिडफिल्डमा रोड्री, पेड्री र डानी ओल्मोको उपस्थितिले स्पेनलाई अझ बलियो बनाएको छ । तर यो टोलीको चुनौती भनेको बहुसंख्यक खेलाडीहरूका लागि यो पहिलो विश्वकप हो । त्यसैले, दबाबका क्षणहरूमा सही निर्णय लिने परिपक्वता र विपक्षीको रक्षापंक्ति तोड्ने एउटा प्राकृतिक सेन्ट्रल स्ट्राइकरको अभाव स्पेनका लागि टाउको दुखाइ बन्न सक्छ ।

यसपटक उपाधि जित्न सक्ने अर्को दाबेदार टोली हो– अर्जेन्टिना ।
साविक विश्वविजेता अर्जेन्टिना यस पटक सन् १९६२ को ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने दुर्लभ कीर्तिमान बनाउने दाउमा छ । सन् २०२२ मा कतारमा विश्वकप र २०२४ मा कोपा अमेरिका जितेपछि लियोनल स्कालोनीको यो टोली मानसिक र रणनीतिक रूपमा अरु टोलीभन्दा बलियो छ । ३९ वर्षको उमेरमा पनि फुटबलका जादुगर लियोनल मेसी टोलीको मेरुदण्ड र प्रेरणाको स्रोतका रूपमा मैदानमा हुनेछन् । मेसीको खेललाई बुझ्ने असाधारण खुबी र निर्णायक क्षणमा गोल गर्ने क्षमता छ । साथै जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र डिफेन्समा क्रिस्टियन रोमेरो जस्ता खेलाडीहरू आफ्नो खेल जीवनको स्वर्णिम लयमा छन् ।

गोलपोस्टको अगाडि उभिने ’पेनाल्टी स्पेसलिस्ट’ एमिलियानो मार्टिनेजको उपस्थिति अर्जेन्टिनाको सबैभन्दा ठूलो सुरक्षा कवच हो । अझ यो टोलीको सबैभन्दा बलियो पक्ष भनेको टोली एकजुट हुनु हो । यो टोलीलाई हर्दा कुनै फुटबल टिमभन्दा पनि ग्याङस्टार जस्तो देखिन्छ । र, यसको लिडर मेस्सी हुन् । मेस्सीको लागि अर्जेन्टिनाका खेलाडीहरु जे गर्न पनि पछि हट्दैनन् । यही टिप स्प्रिडले गर्दा २०२२ को विश्वकप पनि अर्जेन्टिलो जितेको थियो । तर, यसपटक डिमारियाको अभाव भने खड्नि सक्छ । यसअघिको विश्वपक र कोपा अमेरिकाको फाइनलमा पनि डिमारियाले गोल गर्दै महत्वपूर्ण भूमिका खेलेका थिए । यसपटक डिमारियाको भूमिका जुलियन अल्भारेज र लाउतारो मार्टिनेजमध्ये एकले खेल्नुपर्ने देखिन्छ ।

यसपटक विश्वकपको उपाधि जित्ने सक्ने अर्को टोली भनेको ब्राजिल हो । पाँच पटकको ऐतिहासिक विजेता ब्राजिललाई ‘फुटबलको साम्राज्य’ का रूपमा चिनिन्छ । पछिल्लो समय ब्राजिल सन् २००२ को दक्षिण कोरिया र जापान विश्वकपपछि फाइनलसम्म पुगेको थियो । त्यसयाता ब्राजिलले त्यस्तै प्रभावशाली पदर्शन गर्न सकेको छैन । पेले, रोनाल्डो, काका र रोनाल्डिन्होको विरासत बोकेको यो राष्ट्रका लागि २४ वर्षको उपाधि खडेरी तोड्ने यो उपयुक्त अवसर हो । ब्राजिलको टोलीसँग विश्वकै उत्कृष्ट क्लबहरूमा खेल्ने अनुभवी र युवा खेलाडीहरूको उत्कृष्ट संयोजन छ । भिनिसियस जुनियर र राफिन्हाको विष्फोटक आक्रमणले विपक्षीको सातो उडाउन सक्छ । मिडफिल्डमा कासेमिरो र ब्रुनो गुइमारेजको अनुभव तथा डिफेन्समा कप्तान मार्कविन्होस र डानिलोको उपस्थितिले टोलीलाई सन्तुलन दिएको छ । ब्राजिलको मुख्य चुनौती भनेको सुपरस्टार नेयमार जुनियरको इन्जोरी हो । अहिले पनि उनी इन्जोरी नै छन् । तर, विश्वपकसम्म फिट हुने बताइएको छ । अर्कोतर्फ, २४ वर्षसम्म उपाधि जित्न नसक्दाको देशव्यापी दबाब र पुर्खाको विरासत जोगाउने मानसिक बोझ खेलाडीहरूका लागि मुख्य तगारो बन्न सक्छ ।

विश्वकपको ट्रफी उचाल्न सक्ने अर्को बलियो टोलीका रूपमा पोर्चुगल रहेको छ । हालसम्म कहिल्यै विश्वकपको फाइनलसम्म पुग्न नसकेको यो टोलीलाई यसपटक भने कम आँक्न कत्ति पनि मिल्दैन । पोर्चुगल यसपटक इतिहासकै सबैभन्दा सन्तुलित र शक्तिशाली टोलीका साथ मैदानमा ओर्लिँदै छ । सन् २०१६ को युरो कप र नेशन्स लिगको सफलतापछि पोर्चुगलले आफूलाई विश्व फुटबलको मुख्य शक्ति केन्द्रका रूपमा स्थापित गरिसकेको छ ।

आफ्नो छैटौँ विश्वकप खेल्न लागेका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो टोलीका मुख्य खम्बा हुन् । सम्भवतः यो उनको अन्तिम विश्वकप हो । फुटबलका लगभग सबै उपाधि जितिसकेका रोनाल्डोका लागि केवल विश्वकपको ट्रफी मात्र चुम्न बाँकी छ । आफ्ना समकालीन प्रतिस्पर्धी लियोनेल मेस्सीको उचाइ भेट्न पनि उनलाई यो विश्वकपको ट्रफी जसरी पनि उचाल्नु छ ।

रोनाल्डोले पहिलेको जस्तो ड्रिबलिङ गर्न नसके पनि ’डि–बक्स’ एरियामा बल पाएमा अझै पनि उत्कृष्ट फिनिसिङ गर्न सक्छन् । त्यसका लागि ब्रुनो फर्नान्डेज र भिटिन्हा जस्ता मिडफिल्डरहरूले रोनाल्डोका लागि अवसर सिर्जना गरिदिनुपर्ने देखिन्छ । यता पोर्चुगलको अग्रपंक्ति र मिडफिल्ड जस्तै रक्षापंक्ति पनि निकै मजबुत देखिन्छ । बर्नार्डो सिल्भा र राफायल लियो जस्ता डिफेन्डरले विपक्षीका विङ्गरहरूलाई रोक्ने छन् । त्यसमा रुबेन डियाजको उपस्थिति टोलीका लागि सुरक्षाको बलियो पर्खाल बन्नेछ ।

तथापि, पोर्चुगलका लागि सबैभन्दा ठूलो परीक्षा भनेकै स्थापित भेट्रान खेलाडीहरू र उदाउँदो नयाँ पुस्ताबीच मैदानभित्र उचित सन्तुलन मिलाउनु हो । साथै, नकआउट चरणमा बलिया टोलीहरू विरुद्ध रक्षापंक्ति चनाखो र रणनीतिक हुन जरुरी छ ।

स्टार खेलाडीले भरिएको फ्रान्स, रणनीतिक रूपमा अब्बल स्पेन, च्याम्पियन मानसिकता बोकेको अर्जेन्टिना, आफ्नो विरासत सुधार्ने दाउमा रहेको ब्राजिल र इतिहास रच्ने दाउमा रहेको पोर्चुगल यी पाँचै टोलीले विश्वविजेता बन्ने क्षमता छ । यी टोलीबाहेक इङ्गल्याण्ड, नेदरल्याण्ड्स, जर्मनी र मोरोक्को जस्ता देशहरूलाई पनि कम आँक्न मिल्दैन ।

विश्वकपको मैदानमा इतिहास र नामले मात्र पुग्दैन, जसले दबाबलाई आत्मसात् गर्दै ९० मिनेटको खेलमा आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गर्न सक्छ, उसैले २०२६ को सुनौलो ट्रफी चुम्नेछ ।

प्रतिक्रिया दिनुहोस्