Logo
Logo

आजको २० मुख्य समाचार: प्रतिपक्षीको अवरोध कायमैदेखि बालेनलाई जोगाउने रविको प्रयाससम्म- भिडियो


0
Shares

१. प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित, भारतसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनुपर्ने विपक्षीको अडान कायमै । 

२. आर्थिक विधेयकमा करका दर हेरफेरसम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पत्र अस्वीकार्य भन्दै विपक्षीको आपत्ति, सूचना चुहावट र कर हेरफेरलाई राजद्रोहको आरोप, संसदीय छानबिनको माग ।

३. सेनालाई सीमामा तैनाथ गर्न माग गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई गराए ध्यानाकर्षण, प्रधानमन्त्रीको भनाइ सच्याउन पनि आग्रह । 

४. प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी अभिव्यक्तिबारे तत्काल संसद्मा आउन नसक्ने रास्वपा सभापति रवि लामिछानेको धारणा, आवश्यक परे परराष्ट्रमन्त्री वा आफैँले स्पष्ट पार्ने विकल्प अघि सार्दै । 

५. आर्थिक विधेयकमा कर हेरफेरलाई ‘गम्भीर आर्थिक अपराध’ भन्दै पूर्वअर्थमन्त्री वर्षमान पुनको संसदीय छानबिनको माग, प्रधानमन्त्रीको सीमा अभिव्यक्तिबारे परराष्ट्रमन्त्री नभई स्वयं प्रधानमन्त्रीले संसद्मा आएर स्पष्ट पार्नुपर्ने जोड ।

६. आर्थिक विधेयकमा कर हेरफेरबारे एमाले सांसद पद्मा अर्यालद्वारा संसदीय छानबिनको माग, बीवाईडी कर हेरफेरलाई ‘आर्थिक अपराध’ र ‘नियतगत भ्रष्टाचार’ भन्दै छानबिन समिति गठनको जोड ।

७. लुम्बिनी प्रदेश सरकारद्वारा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयमा जसपा नेपालको आपत्ति, सर्वोच्चको फैसलाविपरीत खारेज भइसकेको दलको नाममा मन्त्री नियुक्त गरिएको भन्दै कानुनी उपचार खोज्ने चेतावनी ।

८. कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक विक्रम धामीले दिए राजीनामा, सरस्वती खड्काले पाइन् जिम्मेवारी, धामीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने चर्चा ।

९.किसानको समस्या समाधानका लागि ६ लाख बाँदर मार्नुपर्ने श्रम संस्कृति पार्टी सांसद ध्रुवराज राईको माग, बाँदर संरक्षणको वकालत गर्नेहरूलाई गाउँका किसानको वास्तविक अवस्था बुझ्न चुनौती । 

१०. सङ्घीय सरकारद्वारा ६ महानगरलाई ११ अर्ब ७१ करोडभन्दा बढी अनुदान वितरण, पोखरा महानगरलाई सबैभन्दा धेरै ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ अनुदान ।

११. हुम्ला र बाजुराको सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई संसदीय समितिको निर्देशन, स्थानीय तहबीच समन्वय बलियो बनाउन सभापति जयन्तीदेवी राईको जोड । 

१२. देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा, पुनर्निर्माणमा बजेट अभाव मुख्य समस्या रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको भनाइ ।

१३. त्रिभुवन विमानस्थलमा ‘काउन्टर सेटिङ’ गरी भिजिट भिसामा विदेश पठाउने वायुसेवा निगमका दुई करार कर्मचारी पक्राउ, भारतीय नागरिकलाई भारत र दुबईका फरक बोर्डिङ पास दिइएको खुलासा ।

१४. वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर, अर्काको छोरीलाई आफ्नाे बनाएर झुटा कागजातमार्फत नागरिकता दिलाएको आरोप ।

१५. स्वास्थ्य बिमा भुक्तानीमा सुधार, विगतको बक्यौता क्रमशः तिर्दै सरकार, एक अर्ब तीन करोड रुपैयाँ अस्पतालहरूको खातामा पठाइयो, सरकारी, सामुदायिक तथा निजी सबै संस्थाले रकम प्राप्त गर्ने प्रक्रिया अघि बढ्यो । 

१६. कोसी प्रदेशमा बर्डफ्लु सङ्क्रमणले पोल्ट्री व्यवसाय संकटमा, मोरङ–सुनसरी–झापामा ठूलो क्षति, ४ लाखभन्दा बढी कुखुरा नष्ट भई ५० करोडभन्दा बढी नोक्सानी ।

१७. कम्बोडियामा गैरकानुनी रूपमा बसिरहेका नेपालीलाई जेठ २९ भित्र स्वदेश फर्कन नेपाली दूतावासको आग्रह, कम्बोडियाको नयाँ कानुनी अनुसार जरिवाना र कठोर सजायको जोखिम बढेकाले तत्काल फर्किन चेतावनी ।

१८. एन्फा पदाधिकारीलाई फिफा विश्वकप २०२६ सम्बन्धी विदेश भ्रमण अनुमति अस्वीकार, आर्थिक छानबिनका कारण राखेपको सिफारिसमा अध्यागमनद्वारा विदेश यात्रामा रोक ।

१९. एसियन गेम्स पुरुष क्रिकेट छनोट फाइनलमा नेपालको सानदार जित, वर्षाका कारण हङकङलाई डीएलएस पद्धतिमा पराजित गर्दै उपाधि कब्जा ।

२०. र, फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १९ जनाको मृत्यु,  १३४ घाइते, उद्धार तथा बेपत्ताको खोजी कार्य जारी ।

प्रतिक्रिया दिनुहोस्