Logo
Logo

आजको २० मुख्य समाचारः अर्थमन्त्रीमाथि प्रश्नको वर्षादेखि विश्वकपसम्म


0
Shares

१.  प्रतिनिधिसभामा महत्त्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय श्रम प्रस्ताव स्वीकृत, अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा विनियोजन विधेयक पेस, पर्यटनमन्त्री खड्कराज पौडेलद्वारा सांस्कृतिक सम्पदा संरक्षण विधेयक अघि सारियो ।

२. ३१ वर्षअघिको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, काठमाडौँ महानगरसहित देशभरका सार्वजनिक जग्गाको लगत संकलन र अतिक्रमण हटाउने प्रक्रिया अघि बढ्ने निर्णय । 

३. सरकार गठन र विघटन गर्ने शक्ति प्रतिनिधिसभासँग रहने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति, वेस्टमिन्स्टर प्रणाली अनुसार सरकार बनाउने र हटाउने अधिकार संसद्सँगै रहने भन्दै अभ्यासबारे विस्तृत व्याख्या ।

४.  वैदेशिक ऋणको आलोचना गर्नेहरू सरकारमा पुग्दा नयाँ योजना के भन्दै सांसद आरेन राईको अर्थमन्त्रीमाथि प्रश्न, देश ऋणको चक्रमा फसेको भन्दै परनिर्भरता अन्त्य गर्न आन्तरिक राजस्वबाट देश चलाउने स्पष्ट योजना माग ।

५. सरकारको बजेट र अर्थमन्त्रीको शैलीप्रति एमाले सांसद रामकुमारी झाँक्रीको आपत्ति, सरकारले तथ्याङ्क ढाकछोप गर्न खोजेको दाबी गर्दै कार्यशैलीमाथि उठाइन् प्रश्न ।

६. विकासका नाममा ऋण बढाउने प्रवृत्तिमाथि रोक लगाउन अर्थमन्त्रीलाई श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज राईको सुझाव, अनुत्पादक योजना घटाउन आग्रह ।

७. अविरल वर्षाले अवरुद्ध कर्णाली करिडोर सडकहरूको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण, नागरिकको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्न पनि नेकपा सांसद विष्णुबहादुर विश्वकर्माको आग्रह ।

८. इप्पानको साधारणसभामा व्यवसायीहरूले नीतिगत र प्रशासनिक झन्झटबारे ऊर्जा मन्त्रीसँग पोखे गुनासो, निजी क्षेत्रले कुल उत्पादनमा ८० प्रतिशत योगदान रहेको दाबी ।

९. अर्थमन्त्रीको पत्रकार र सांसदबारे टिप्पणीप्रति एमाले नेता प्रदीप ज्ञवालीको आपत्ति, सञ्चारमाध्यमलाई ‘खोस्टा’ भन्न नहुने भन्दै लोकतन्त्रका पहरेदारमाथि सम्मान गर्न आग्रह ।

१०. सर्वोच्चको आदेशसँगै निजामती सेवाका ट्रेड युनियन हटाउने विषयमा सरकारलाई कानुनी बाटो खुला, संवैधानिक इजलासको आदेशसँगै निजामती सेवामा लागू अध्यादेश कार्यान्वयनको प्रक्रिया अघि बढ्ने ।

११. सुस्तामा भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयको प्रतिकार,  भूमि जोगाउने स्थानीयको सरकारद्वारा प्रशंसा ।

१२. रत्ननगर बकुलर अस्पताल घटनामा न्यायको माग गर्दै आएका सुजन विकको धर्ना स्थगित, चिकित्सकीय लापरबाही र पोस्टमार्टम रिपोर्ट नदिएकोबारे छानबिन गर्ने भएपछि आन्दोलन फिर्ता ।

१३. काठमाडौं उपत्यकामा अव्यवस्थित तार हटाउने अभियान तीव्र, दूरसञ्चार तथा इन्टरनेटका आफ्ना तारमा स्पष्ट पहिचान खुल्ने ट्याग राख्न नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन । 

१४. नेपाल एयरलाइन्स सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर, योग्यता क्रम अनुसारका उम्मेदवारहरूलाई कारणसहित पुनः निर्णय गर्न परमादेश जारी ।

१५. काठमाडौं उपत्यकामा यातायात प्रणाली सुधारको बृहत् योजना सार्वजनिक, सिन्डिकेट अन्त्य, रुट व्यवस्थापन र आधुनिक सार्वजनिक यातायात प्रणाली विकासमा सरकारको जोड ।

१६. कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै मधेस प्रदेश सभा अगाडी टायर बालेर प्रदर्शन, सिरहा–धनुषा जोड्ने रणनीतिक पुललाई बेवास्ता गरेको भन्दै स्थानीयवासी आन्दोलित ।
 
१७. सिंहदरबारभित्रको क्यान्टिनमा गुणस्तरहीन खाद्य सामग्री भेटिएपछि २ लाख १ हजार रुपैयाँ जरिवाना, अनुगमनमा चना दाल, बदाम र अण्डा गरी ६ हजार ५६० रुपैयाँ बराबरका वस्तु नष्ट ।

१८. विदेशी नागरिकको अध्ययन भिसा सिफारिसमा नक्कली कागजात प्रयोग, वाल्मीकि विद्यापीठको नाममा पेस गरिएका कागजात नक्कली भेटिएपछि शिक्षा मन्त्रालयद्वारा उच्चस्तरीय छानबिन समिति ।

१९. विश्वकपमा पहिलो जीत खोजिरहेको क्यानडाले बोस्नियासँग खेल्दै, भोलि शनिबार बिहान आयोजक अमेरिका र पराग्वे भिड्दै ।

२०. र, सामाजिक सञ्जालबाट उदाएको ‘कक्रोच जनता पार्टी’को देशव्यापी अभियान, शिक्षा र बेरोजगारी मुद्दा केन्द्रमा, नयाँदिल्लीसहित अन्य सहरमा आन्दोलन चर्किने संकेत ।

प्रतिक्रिया दिनुहोस्