काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा भट्टराई कारको अगाडि सिटमा बसेर लापरबाहीपूर्ण तरिकाले यात्रा गरेको देखिन्छ ।

उक्त भिडियो फेसबुकमा पोस्ट भएपछि व्यापक आलोचना भएको छ । ट्राफिक प्रहरीले लापरबाहीपूर्ण सवारी यात्राले दुर्घटनाको जोखिम बढाउने भन्दै निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लापरबाहीपूर्ण यात्रा गर्नेलाई जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
सामाजिक सञ्जालमा सांसद भट्टराईमाथि पनि कारबाही हुनुपर्ने माग उठिरहेको छ । यस्तै प्रकारको घटनामा यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सांसद हर्क साम्पाङलाई जरिवाना गरेको थियो ।
रास्वपा सांसदहरू अहिले विभिन्न कारण ट्रोल बनीरहेका छन् । उनीहरुको बोल्ने शैली र व्यवहारकै कारण आलोचना भइरहेको छ ।
यस अघि उनले आफू राम्री भएको कारण आलोचना हुने गरेको भन्दै आपत्ति जनाएका थिइन् । उनले अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले आफूलाई केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको गुनासो गरेकी थिइन् । उनले आलोचकहरूलाई पाखण्डी समेत भनेकी थिइन् । उनी सो अभिव्यक्तिपछि ट्रोल बनेकी थिइन् । अहिले पनि उनको हर्कतकलाई लिएर ट्रोल भइरहेको छ ।














