Logo
Logo

संसद्मा सत्तापक्षबाटै सभामुखको अपमान !


1k
Shares

काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्थामा सभामुखलाई संसद्को अभिभावक र सर्वोच्चताको प्रतीक मानिन्छ।

संसद् बैठककक्षमा सभामुखको प्रवेश हुँदा उपस्थित मन्त्री तथा सांसदहरू आ–आफ्नो स्थानबाट उठेर सम्मान प्रकट गर्ने स्थापित परम्परा छ। यो राज्यको एउटा प्रमुख अंग र सार्वभौम संसद्प्रतिको संस्थागत सम्मान पनि हो । तर, आज मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल प्रवेश गर्दा मन्त्रीहरू नै आफ्नो स्थानबाट उठेनन् ।

बैठककक्षमा सभामुख अर्याल प्रवेश गरिसक्दा पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आसनमै बसिरहेका थिए । सांसदहरू भने सम्मानका लागि आसनबाट उठेका थिए ।

सभामुख प्रवेश गर्दा मन्त्रीहरू नउठेपछि नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले नियमापत्ति जनाएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (क) मा सभामुख बैठककक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको उनले स्मरण गराए । महरले आ-आफ्नो स्थानबाट नउठेका मन्त्रीहरूको भिडियो ‘चेक’ गरी ‘रुलिङ’ गर्न सभामुखसमक्ष आग्रहसमेत गरे।

“सम्माननीय सभामुख महोदय बैठककक्षमा प्रवेश गर्दै गर्दा दुईजना मन्त्रीज्यूहरूले उठेर सम्मान गर्नुभएको छैन, बसिरहनुभएको छ,” महरले भने, “यसले हामीलाई चिन्तित र गम्भीर बनाएको छ। त्यो भिडियो चेक गरी रुलिङ गर्न अनुरोध गर्दछु।”

तर, सभामुख अर्यालले उक्त नियमापत्ति तर्फ खासै ध्यान दिएनन् । उनले रोस्ट्रममा पुगिसकेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाललाई बोल्न समय दिँदै बैठकको कार्यसूची अगाडि बढाए।

संसदीय व्यवस्थामा कार्यपालिका (सरकार) संसद्प्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्छ । मन्त्रीहरू संसद्कै जगबाट बन्ने भएकाले उनीहरू सदनको नियम र परिधिभित्र बाँधिनु अनिवार्य हुन्छ । सभामुख आसनमा बस्नुअघि र बैठककक्षमा प्रवेश गर्दा उपस्थित सबैले उभिएर अभिवादन गर्ने परम्परा विश्वव्यापी संसदीय संस्कृति हो ।

यस्तो अवस्थामा देशका जिम्मेवार मन्त्रीहरूबाटै मर्यादा पालना नगरिनुले संसद्को गरिमालाई त गिराउँछ नै, सँगै विधिको शासनको समेत खिल्ली उडाउँछ ।

प्रतिक्रिया दिनुहोस्