Logo
Logo

धनुषामा तस्कर र घुमुवाको सेटिङ


- दृष्टि न्युज/संवाददाता


धनुषा, २३ मंसिर । केही दिनअघि सप्तरीको राजविराज–१३ मुसहर्नियास्थित खोला किनारमा प्रहरी र तस्करबीच झडप भयो । तस्करी गर्न मालसामान लिई धान खेतमा लुकेर बसेका तस्करहरुले गस्तीमा रहेका प्रहरीमाथि हमला गरेका थिए । हमलामा परी प्रहरी हबल्दार कमलदेव यादव र दिपेन्द्र साह घाइते भएका थिए । गुहार मागेका प्रहरीहरुको आवाज सुनेर पुगेका स्थानीयले बचाउन पुगेपछि तस्करहरु प्रहरीको मोबाइल र केही नगद लुटेर भागेका थिए ।

दिपेश सिंह

के नयाँ डिआजी चन्द्रप्रकाश गौतमले घुमुवा परिपाटीलाई बन्द गर्लान् त ? के दिपेश सिंहलगायतका अन्य घुमुवाहरु धनुषा बस्नै पर्छ ? ती घुमुवाहरु धनुषा मात्र किन बस्न चाहन्छन् ? एक दशक धनुषा बसेका सिंहजस्ता अन्य घुमुवाहरु धनुषा नबस्दा संगठनलाई के नराम्रो असर पर्छ ? लगायतका प्रश्नहरु उब्जिएको छ ।

त्यस्तै केही महिना आगाडि धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–१ सीमामा रक्सी तस्कर र प्रहरीबीच झडप भयो । तस्करले मुखियापट्टि प्रहरी चौकीका असई प्रमोद साहको पेस्तोल खोसेर लगे । पछि निकै खोजतलास गर्दा दशगजा नजिकै एउटा खरबारीमा तस्करले खोसेर लगेको पेस्तोल फेलापर्यो । बेलाबेलामा यसरी तस्कर र प्रहरीबीच झडप भएको र दुवै पक्षबीच हताहत तथा गोली चलेको समाचार आइरहेको कुरा नौलो छैन ।

तस्करी नियन्त्रण तथा सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रदेश नं २ मा ५७ वटा बोर्डर आउटपोष्ट र ६३ वटा सशस्त्र प्रहरी चेकपोष्ट स्थापना गरिएको छ । ३ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि चोरी निकासी पैठारी रोकिएको छैन ।

तस्करसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र कतिपय ठाउँमा भन्सारका कर्मचारीहरु मिलेका कारण तस्करी फस्टाएको छ । तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरीले आफ्नो कर्तव्य इमान्दारीसाथ न निभाएका कारण झन तस्करी बढेको जानकारहरु बताउँछन् ।

अन्य जिल्लाहरु जस्तै धनुषामा पनि कतिपय बोर्डर आउटपोष्टले घुमुवा राखेर अवैध रकम असुलिरहेको छ । धनुषामा मात्रै जम्मा ७ वटा बोर्डर आउटपोष्ट छन् । अधिकांश इन्सपेक्टरहरुले घुमुवा परिचालन गरी तस्कर तथा व्यापारीहरुसँग रकम असुली गरिरहेको छ ।

धनुषाको नगराइन बिओपीका इन्सपेक्टर फल थापाले मनोज झा भन्ने घुमुवा, डेबडिहा बिओपीका इन्सपेक्टर विनोद यादव, खजुरी बिओपीमा ज्ञानु चौधरी, घुमुवा रहेका छन् । बिओपीभन्दा कम आम्दानी नरहेको यदुकोहाका इन्सपेक्टर सागर राईले चन्द्रशेखर मण्डललाई घुमुवा नियुक्त गरी असुली तीव्र पारेका छन् ।

भन्सार गुल्ममा घुमुवाको नाइके

सशस्त्र प्रहरी भन्सार गुल्ममा धनुषाभरिका घुमुवाहरुको नाइके भनेर चिनिएका दिपेश सिंहको तस्करहरुसँग सेटिङ मिलाउन वर्षौँदेखिको अनुभव छ । सिंह जागिर अवधिको अधिकांश समय धनुषामै बिताएका छन् । सिपाहीदेखि सहायक हबल्दारसम्म धनुषामै हुँदा बढुवा भएका छन् ।

हाल धनुषाभरिको सबै तस्करहरुसँग उनको बाहेक कसैको पहुँच राम्रो छैन । जयनगर इनर्बादेखि फुलगामासम्मका सबै तस्करसँग राम्रो पकड बनाएका सिंह केही महिना आगाडि अवैध पैसा उठाउने काण्डमा बर्दिबास तानिएका थिए । सोही काण्डमा तानिएका कारण उनलाई तत्कालीन डिआइजी राजु अर्यालले केही महिना बर्दिबास राखेका थिए र पछि उनलाई त्यहाँबाट महोत्तरी गणमा पठाए । हाल उनी सशस्त्र प्रहरी भन्सार गुल्ममा धनुषामा छन् ।

के नयाँ डिआजी चन्द्रप्रकाश गौतमले घुमुवा परिपाटीलाई बन्द गर्लान् त ? के दिपेश सिंहलगायतका अन्य घुमुवाहरु धनुषा बस्नै पर्छ ? ती घुमुवाहरु धनुषा मात्र किन बस्न चाहन्छन् ? एक दशक धनुषा बसेका सिंहजस्ता अन्य घुमुवाहरु धनुषा नबस्दा संगठनलाई के नराम्रो असर पर्छ ? लगायतका प्रश्नहरु उब्जिएको छ ।

घुमुवाबाट असुली भएकै आम्दानीले केही वर्ष अगाडि जनकपुर जिरोमाइलमा ६ धुर र हालमा कटैया चौरीमा पनि ५ धुर जग्गा आफन्तको नाममा किनेका एक घुमुवाले नाम उल्लेख नगर्ने शर्तमा बताए । केही दिन अगाडि बिन्देशर नायक (छोटु)को मालसमान डेबडिहा बेसले समातेर भन्सार बुझाएका थिए । सो सामान छोडाउन सिंह आफैँ सक्रिय भएर भन्सार प्रमुखलाई मिलाएर छोडाएका थिए । पटक–पटक विवाद र पत्रपत्रिका तथा समाचारको हेडलाइनमा रहेका सिंह पैसा र पावरका भरमा मात्र धनुषामा टिकेका छन् । फुलगामा नाकाबाट जयकुमार यादव, उमेश साह, नगराइनबाट सोहन जलान, रञ्जित रौनियार, रहिमान, विजय कर्ण, डेबडिहाबाट सुल्तान, फेकन, पिन्टु धनौजीबाट अयुव, जीतु, नयुम, मुस्तकीम, बैतुल्लाह, खजुरीबाट प्रदीप साहलगायतकाले तस्करी कार्यलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्