Logo

व्यङ्ग्य चेतनाका सुन्दर मुक्त्तक


- छरिमण सिलवाल


  • छरिमण सिलवाल

हुने गरेको यहाँ इमानको ठूलै व्यापार देखेंं
सिन्डिकेटको अगाडि कति निरीह सरकार देखें
हिजोसम्म चल्थ्यो हैकम जसको यो मुलुकमा
आज उसैलाई मैले मृत्युको अगाडि लाचार देखें ।

“लोडसेडिङले अँध्यारो छाएको अवस्थामा एउटा सानो मैनवत्तीले लिएको उज्यालो पनि हामीलाई कत्रो भरोसा र सहारा हुन्छ, त्यस्तै प्रदूषित राजनीतिको कारण चारैतिर निराशा र हतासा छाएको आजको अवस्थामा पनि मैनवत्तीमा टुकीजस्तै आशा र भरोसाको उज्यालो छर्न सक्ने खालको हुनुपर्छ अब साहित्य । देश र समाजलाई असर पर्न सक्ने साहित्य खोज्न या देख्न सक्नुपर्छ ।” भन्ने सुन्दर धारणा बोकेर नेपाली साहित्यमा लागिपरेका विशिष्ट स्रष्टा ज्ञानुवाकर पौडेलको पछिल्लो समयमा प्रकाशित मुक्त्तक सङ्ग्रह अनुदित मनभित्रका १६४ मुक्त्तकले हाम्रै समाजका कुराहरु बोलेका छन् ।

सुन्ने शासक बैरो भएपछि कसको के लाग्छ, र त लेखकहरु पनि पार्टीका झण्डा बोक्न बाध्य भएका छन्, त्यसैले त एउटा स्वतन्त्र कलमजिवीको आवाज ती लेखकहरुप्रति सोझिएको हो । आफ्नै देशमा बगाउनुपर्ने पसिना खाडी मुलुकमा वाफिलो बनेर उडिरहेको उनलाई पाच्य हुँदैन र उनीहरुको दुःखका पहाडलाई रोकौँ भन्ने आग्रह पनि उनको छ मुक्त्तकमार्फत ।

एउटा स्रष्टाले आम मानिसले जे गर्छ, हो त्यही गरेको हुन्छ, त्यही भोगेको हुन्छ, तर ऊ अलि विशिष्ट हुन्छ, यी नै कारणहरुले गर्दा, ऊ समाजमा जे देख्छ त्यसलाई तुरुन्त सिर्जनाका माध्यमबाट त्यही समाजलाई नै सुम्पन्छ, सचेत गराउँछ । समाजमा झाङ्गिदै गरेका हरेक नकारात्मक पक्षहरुलाई सजग गराइरहेको हुन्छ । ज्ञानुवाकर पौडेलका सिर्जनाहरुले पनि त्यही बोलिरहेका छन् । समाजप्रति दायित्ववोध गरेर लेख्छन् उनी । अनेकन नाममा भत्कँदै गएको समाजको संरचनालाई अझै मजबुत बनाउने ध्याउन्न गरिरहेका छन् उनका सिर्जनाहरुले । एउटा परिपक्क सर्जकको सिर्जनाले समाजमा धेरै कुराको महत्वबोध गराएको हुन्छ । पौडेलका सिर्जनाबाट पनि त्यही बोध हुन्छ । उनी शब्दहरु खेलाउन सक्ने माहिर शब्दसारथीका रुपमा मैले लिएको छु । उनको पछिल्लो पुस्तकका मुक्त्तकहरुले यही भनिरहेका छन् । यी मुक्त्तकहरुका हरेक शब्दहरुको आ–आफ्नै महत्व बोकेको स्पष्टरुपमा देखिन्छन् ।

पौडेलका व्यङ्यात्मक शैलीका यी मुक्त्तकहरुमा प्रायः सबै निसानामा परेका छन् । राजनीतिक उद्योगीहरु अझै कडा निसानामा परेका छन् । उनले लेखक पत्रकारहरुलाई पनि बाँकी राखेका छैनन् । यो उनले हरेक क्षेत्रमा झाङ्गिदै गएको विकृतिमाथि प्रहार गरेका हुन् । उनीहरु सुध्रिउन भन्ने उनको चाहना हो, हरेक लेखकको यही चाहना हुन्छ । त्यसैले त लेखकहरु विभिन्न विकृतिका विरुद्ध आवाज उठाइरहेका छन् । तर, सुन्ने शासक बैरो भएपछि कसको के लाग्छ, र त लेखकहरु पनि पार्टीका झण्डा बोक्न बाध्य भएका छन्, त्यसैले त एउटा स्वतन्त्र कलमजिवीको आवाज ती लेखकहरुप्रति सोझिएको हो । पौडेलले माया–प्रेमका मात्र मुक्त्तक लेखेका छैनन्, देश, समाज प्रतिको दायित्वबोध हुने मुक्त्तकहरु पनि लेखेका छन् । आफ्नै देशमा बगाउनुपर्ने पसिना खाडी मुलुकमा वाफिलो बनेर उडिरहेको उनलाई पाच्य हुँदैन र उनीहरुको दुःखका पहाडलाई रोकौँ भन्ने आग्रह पनि उनको छ मुक्त्तकमार्फत । कहिलेकाहीँ त मलाई लाग्छ किन कवि–लेखकहरुलाई मात्र देश दुख्छ ? दुःख विज्छ ? शासकहरुको मुटु के ले बनेको होला ? एउटा लेखकका यी चिन्ता र खुल्दुलीको जवाफ हामीले कहिले पाउने होला ? हामीले कहिले सुखका कविता लेख्ने ? समृद्धिका कविता लेख्ने ? यस्ता यावत खुल्दुलीहरु अनूदित मनभित्र ज्ञानुवाकर पौडेलले पोखेका छन् । अनुभवबाट खारिएका एउटा विशिष्ठ स्रष्टाको यो कृति मुक्त्तक विधामा कलम चाल्नेहरुका लागि एउटा मानक गुरुका रुपमा रहिरहने छ ।

पौडेल मुक्त्तक विधामा भन्दा नेपाली गजल विधाका होनहार व्यक्तित्वको रुपमा परिचित नाम हो । उनका गजल र मुक्त्तकमा करिब आधा दर्जन गहकिला पुस्तकहरु प्रकाशित भइसकेका छन् । थुप्रै पत्रपत्रिकाहरुमा सम्पादकको रुपमा कार्यअनुभव बटुलिसकका पौडेलका सिर्जनाहरुमा पनि विशिष्ठता झल्किरहेका पाइन्छन् । ज्ञानुवाकरको नाम मात्रले नेपाली गजल क्षेत्रमा एउटा विशिष्टता झल्कन्छ । नेपाली गजल तथा मुक्त्तकमा उनको योगदान कसैले भुल्न सक्ने खालको छँदै छैन । उनको पछिल्लो मुक्त्तक सङ्ग्रह अनूदित मनले हरेक मान्छेका मनहरु पढेर निचोड निकालेका सग्लो स्वरुपका रुपमा बजारमा आएको छ । २०४८ सालमा पहिलो मुक्त्तक सङ्ग्रह निर्वासित मन प्रकाशन भएको करिब २८ वर्षपछि दोस्रो कृति अनूदित मन प्रकाशन भए पनि त्यस बीचमा सञ्चय भएका शब्दहरु निकै ओजपूर्ण स्वरुपमा पाएको छ नेपाली साहित्यले । २८ वर्षमा नेपालको राजनीतिले धेरै उतारचढावको सामना गरे पनि नेपाली जनताको दुःखका पहाडहरु जस्ताको तस्तै रहेको जिकिर पौडेलको छ अनूदित मनमार्फत । जनमनका त्यही दुःखसँग पौठाजोरी खेलिरहेका पौडेल नयाँ नेपालको चाला देखेर दुःखी हुन्छन्, सर्जक भएको नाताले शब्दहरुमार्फत आफ्ना गुुनासाहरु जनमनलाई नै सुम्पन्छन् ।

नयाँ नेपालको हेर्नुस् न, कस्तो भो चाल हजुर
जति गरे नि पाइएन जस, मिल्छ अवगाल हजुर
खैरियत देख्दिनँ म, मुलुकको भविष्य अँध्यारो लाग्छ
सच्चा देशभक्त्त र इमान्दार यहाँ किन कङ्गाल हजुर ?

हटाऊँ भने अन्धकार, पानसमा तेल छैन
गरुँ भने पनि यात्रा, सुरक्षित यहाँ रेल छैन
अनि, नर्क नबनेर कसरी बन्छ त यो देश स्वर्ग
सत्ताका ठेकेदारहरुबीच नै जब राम्रो मेल छैन ।

“साहित्य मनोरञ्जन मात्र होइन, साहित्यलाई चेतनाको सम्वाहकको रुपमा लैजानुपर्छ ।” भन्ने कुरामा जोड छ पौडेलको । ‘आफूले सोचेको चाहेको अनुसार नभइदिएर भावनामा चोट परेको बेला भनौ अथवा जस्तोसुकै सामाजिक प्रतिकुलता बीच पनि आफूलाई जोगाउने र एडजस्ट गराउने बहाना या सवल साहित्य बाहेक अरु केही माध्यम नभएकोले नै साहित्य लेखिन्छ’ भन्ने विश्वास बोकेर सिर्जनामा तल्लिन हुने पौडेल, समाजमा रहेका सङ्गत–बिसङ्गतका पाटाहरुलाई मिठो शैलिमा लेखेर समाजलाई अग्रता दिने सिर्जनाहरु लेख्न मन पराउँछन् । अनूदित मन यसको ज्वलन्त उदाहरण हो । वास्तवमा साहित्यकार समाज भन्दा टाढा रहन सक्त्तैन, त्यसले समाजमुखी साहित्य तर्फ उन्मुख भएर साहित्य लेखिरहेका छन्, पौडेल । त्यसैको एउटा स्वरुप हो उनको पछिल्लो मुक्त्तक सङ्ग्रह अनुदित मन । यस सङ्ग्रहका सबै मुक्त्तकका आ–आफ्नै विशेषताहरु छन्, हरेक पंक्ति या शब्दहरु जोखेर तौलेर लेखिएका जस्ता लाग्छन् र त त्यतिकै चोटिला पनि छन् । नेपालको जेठो साहित्यिक पत्रिका रचनाले प्रकाशन गरेको अनूदित मन मुक्त्तकीला मनहरुको लागि एउटा मानक सिर्जना हो भन्न चाहन्छु ।

लड्छन् आपसमा भने ठिकै छ, लड्न दिऊँ
उड्छन् हावामा भने पनि, हुन्छ, उड्न दिऊँ
घमण्ड तिनको सारै पो चुलिएछ, हेर्नूस् त–
आउला भिरालो कुनै दिन, अहिले चढन दिऊँ ।

कसैको आदर्श देख्छु–ओइलिएको फूलजस्तो
कसैको सिद्धान्त देख्छु च्यातिएको फूलजस्तो
कसले गर्ला खै अब यो समाजको उपचार
देश पनि लाग्न थाल्यो, भत्केको पुलजस्तो ।

[email protected]

प्रतिक्रिया दिनुहोस्