Logo
Logo

प्रेमपत्रले सिर्जनशिल भएँ– मीना सिंगक, गीतकार


- दृष्टि न्युज/संवाददाता


‘हजार तारा आकाशमा’ प्रथम ‘नेपाली तारा’ दिपक लिम्बू यही गीत गाएर चर्चामा आएका थिए । ‘न्यौउली रोयो’ बोलको गीतले गायक राजेशपायल राईलाई पूर्वमा स्थापित गराएको थियो । यस्ता दर्जनौँ लोकप्रिय गीतका गीतकार मीना सिंगक हाल आफूले रोजेभन्दा फरक बाटोमा छिन् । ‘सबैले उपचार पाउँनुपर्छ’ भन्ने मान्यताअनुरुप उनी पूर्णकालिन समाजसेवामा होमिएकी छन् । याक्थुङ सिंगक फाउण्डेशनकी अध्यक्षसमेत रहेकी गीतकार मीनाले सामाजिक सञ्जालबाटै अभियान चलाएर उपचार नपाएका दीर्घरोगीहरुका लागि ‘जिउँदो देवता’ बनेकी छन् । मिर्गौला, क्यान्सर, मुटुरोगले ग्रसित तर आर्थिक अभावले उपचार गर्न नसक्नेहरुका लागि आर्थिक संकलनदेखि विभिन्न समाजसेवामा गर्दै आएकी मीना भन्छिन्, ‘समाजसेवाकै गतिविधमा व्यस्त छु, दैनिक पाँच÷छ वटा मिटिङ हुन्छ ।’ २०५३ सालमा ‘जस्ट फर यू’ एल्बम निकालेर सांगीतिक सिर्जनामा होमिएकी मीनाले केही फिल्ममा पनि गीत लेखेकी छन् । तीन दर्जनभन्दा बढी गीतका गीतकार तथा समाजसेवी मीना सिंगकसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

सामाजिक कार्यमै व्यस्त छु । दैनिक पाँच÷६ वटा मिटिङ हुन्छ । यो सामाजिक कामले मलाई खानु र सुत्नुलाई समेत बेटुंगो बनाइदिएको छ ।

तपाइँको सामाजिक सेवाको क्षेत्र कुन हो ?

दीर्घरोगी भएर पनि गरिबीका कारण आर्थिकरुपले उपचार गर्न नसक्नेहरुका लागि अािर्थक संकलन गर्ने हो । मैले संयोजन र अभियान चलाएर सहयोग गरिदिने मात्र हो । सामाजिक सेवाभावका व्यक्तिले कसैलाई सहयोग गर्न चाहेरपनि सम्बन्धित पीडितसम्म पुग्न सकेको हुँदैन । तिनीहरुका लागि पुल बन्ने काम गर्छु । सेवा गर्न पाउने पनि सुन्तुष्टि हुन्छ र पीडितले उपचार पाउँछ । तर, जोकोहीका लागि आर्थिक संकलन भने गर्दिनँ । अपिल गर्नेहरुलाई सहयोग गर्ने हो ।

तपाइँको सामाजिक कार्यको माध्यम के हो ?

मुख्य माध्यम सामाजिक सञ्जाल नै हो । त्यसपछि सम्पर्कमा भएकाहरु मार्फत अपिल आउँछ । अहिलेको जमानामा फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालबाट कोही अछुतो छैन । त्यसैले सामाजिक सञ्जाल प्रभावकारी बनेको छ ।

गीतकारबाट ‘सामाजिक अभियान्त’मा परिचय बदल्नुभएको हो ?

परिचय बदलेकी छैन । म गीतकार नै हुँ । समाजसेवा गर्ने पहिलेदेखि इच्छा थियो । तर, जब २०७२ सालमा विनासकारी भूकम्प गयो, त्यसपछि सामाजिक सेवामा होमिएकी हुँ । त्यसअघिसम्म सकेको सहयोग गर्थेँ ।

हिजोआज गीत लेख्नु हुन्न ?

सामाजिक कार्यमै व्यस्त भएकाले लेख्न भ्याएकी छैन । ‘डर थियो मलाई’ मेरो पछिल्लो गीत हो । यो ‘शिरफूल–१’ नामक एल्बममा समावेश छ ।

गीत सिर्जनामा लाग्नुभएको कति भयो ?

२०५२÷०५३ सालबाट हो । म सानैखि गीत सुन्न रुचाउँथे । तेह्रथुममा एसएलसी दिएर धरान क्याप्पस पढ्न आएपछि गीत लेख्न थालेकी हुँ । त्यो बेला गीतसंगीत र साहित्य सिर्जनाको उर्वर समय थियो । महेन्द्र बहुमुखी क्याम्पसमा सिएल जोएन गरेपछि सिर्जनामा लागियो । त्यो समय साथीहरुसँग क्याम्पसमा भित्तेपत्रिका प्रकाशन गर्दथ्यौँ । हाम्रो भित्तेपत्रिका क्याम्पसमा लोकप्रिय थियो ।

गाउने रहरचाहिँ जागेन ?

प्रयासचाहिँ गरेको हो । तर, गाउनुभन्दा लेखनलाई मैले ध्यान दिएँ । म सिर्जनशिलता रुचाउँछु । गीतमात्र गाउनेलाई सिर्जनशिलता मानिँदैन । तैपनि केही समय संगीतको परीक्षण लिएँ ।

तपाइँले पहिलोपटक लेख्नुभएको गीत कुन हो ?

२०५३ सालमै, ‘एक्लो छु म यो जीवनमा’ बोलको गीत लेखेकी थिएँ । त्यो नै मेरो पहिलो रेकर्डिङ भएको गीत हो । जसलाई मदन दिब्बिनको संगीतमा कृष्णभक्त राईले गाउनुभएको छ ।

पहिलो गीतजस्तै अहिले पनि सिंगल हुनचाहिँ संयोग हो ?

संयोग कि के हो मलाई थाहा भएन । तर, एक्लो महशुस भएको छैन । तर, अहिलेसम्म सबैको माया र स्नेहीता पाएकी छु । त्यसैले एक्लो फिल भएको छैन ।

व्यस्त भएर घरजम गर्नै नजुरेको त होइन ?

त्यसो भन्न मिल्दैन होला । मन भए जस्तोसुकै व्यस्त भएपनि घरजम गर्नलाई रोकिँदैन । तर, कसरी जुरेन, त्यो मलाई नै थाहा छैन ।

‘कलेजलाइफ’मा मन पराउनेहरु कति भेट्नुभयो ?

मन पराउनेहरु अहिले पनि छन् । कलेजलाइफमा नहुने कुरै भएन । त्यो बेला मलाई यति धेरै केटाहरुको प्रेमपत्र आउँथ्यो । सबै राखेको भए एक डोको हुन्थ्यो । ती प्रेमपत्रले पनि मलाई साहित्यिक क्षेत्रमा लाग्ने प्रेरित ग¥यो । त्यो समयमा फेसबुक र मोबाइलको सुविधा थिएन । आफ्नो भाव प्रकट गर्ने माध्यम भनेको चिठ्ठीपत्र नै हो ।

प्रतिक्रिया दिनुहोस्