काठमाडौं । टिभिएस मोटरले नेपालकै शक्तिशाली मोटरसाइकलको रूपमा पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटीआर १६० ४भी (TVS Apache RTR 160 4V) नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले शनिबार राजधानीको सतुंगलमा एक विशेष कार्यक्रमको आयोजना गरी यो बाइक बजारमा ल्याएको हो। विगत दुई दशकदेखि रेसिङ प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय मेसिनहरू निर्माण गर्दै आएको छ। कम्पनीका अनुसार यो नयाँ संस्करणले मोटरसाइकलको प्रमाणित प्रदर्शन र रेसिङ डीएनएलाई कायम राख्दै राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता र नियन्त्रणलाई अझ सुदृढ बनाएको छ।
टिभिएस रेसिङको ४४ वर्षको विरासत र ट्रयाकबाट प्रेरित यस बाइकको डिजाइनदेखि प्रविधिसम्मका हरेक पक्षहरू रेसट्रयाककै अनुभवका आधारमा तयार पारिएका छन्। यस बाइकमा १५९.७ सीसीको इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा १७.५५ पीएस शक्ति र अर्बन तथा रेन मोडमा १५.६४ पीएस शक्ति पैदा गर्छ।
५-स्पीड गियरबक्स र १२ लिटरको इन्धन ट्याङ्की क्षमता भएको यस मोटरसाइकलमा सुरक्षाका लागि ड्युअल-च्यानल एबीएस र उत्कृष्ट नियन्त्रणका लागि ३७ एमएमको अपसाइड डाउन (USD) फोर्क्स राखिएको छ। यसमा रहेका तीन वटा राइट मोडहरू (स्पोर्ट, अर्बन र रेन) यस सेग्मेन्टमै पहिलो पटक भित्र्याइएको जगदम्बा मोटर्सले जनाएको छ।
सतुंगलमा आयोजित सार्वजनिक कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइकप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो, जहाँ उनीहरूका लागि विशेष राइडिङ सेसन र डेडिकेटेड ट्रयाक राइडको समेत व्यवस्था गरिएको थियो।
लन्चका अवसरमा बोल्दै टिभिएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले युवा र गतिशील राइडरहरूको बढ्दो संख्याका कारण नेपाल रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको र नयाँ बाइकले यस सेग्मेन्टमा कम्पनीको उपस्थितिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस अपाचेले नेपाली युवाहरूमाझ बलियो पकड बनाएको उल्लेख गर्दै यो नयाँ संस्करणले आफ्नो श्रेणीमै उत्कृष्ट विशेषताहरूका कारण लोकप्रियतालाई अझ बढाउने बताए । कम्पनीका प्रिमियम बिजनेस हेड विमल सुम्ब्लीले पनि विश्वका ६० भन्दा बढी देशका ६५ लाखभन्दा बढी राइडरहरूको विश्वास जितेको अपाचे ब्रान्डले १६० सीसी सेग्मेन्टमा फेरि नयाँ बेन्चमार्क कायम गरेको उल्लेख गरे ।
यो नयाँ बाइक हाल नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध भइसकेको छ भने जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध यस मोटरसाइकलको एक्स-शोरूम मूल्य नेपाली रु. ४,२९,९००/- तोकिएको छ।
नेपालमा टिभिएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो बृहत् नेटवर्क र उत्कृष्ट सेवामार्फत अटोमोबाइल क्षेत्रमा योगदान दिँदै आएको छ भने प्रतिष्ठित ‘डेमिङ प्राइज’ विजेता टिभिएस मोटर कम्पनीले विश्वभरका ९० भन्दा बढी देशहरूमा दिगो गतिशीलतालाई प्रोत्साहन गरिरहेको छ।














