
बालेन प्रधानमन्त्री बनेपछि देशमा बौद्धिक बेरोजगारीको संख्या पनि ह्वात्तै बढेको छ । बालेनले १३ देशका लागि १३ जना राजदूत नियुक्त गर्न टेण्डर आह्वान गर्दा २७ सय जनाले राजदूत बन्न आवेदन भरेबाट देशमा कति धेरै राजदूतहरु बेरोजगार रहेछन् भन्ने कुरा थाहा भयो ।
खरिदारदेखि सहसचिवसम्म जागिरका लागि लोकसेवाले दरखास्त आह्वान गरेको त थाहा थियो, यो राजदूत पदका लागि भने परराष्ट्रले पहिलोपटक टेण्डर आह्वान गरेको सुन्दा अब लोकसेवा नै खारेज किन नगर्ने भन्ने प्रश्न उठ्न थालेको छ, कसो शिशिर खनालज्यू ?
विचरा प्रचण्ड
अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ भनेझैँ अस्ति आइतबार राष्ट्रिय सभागृहमा आयोजित मदन जयन्तीमा ‘एकता’को शब्द सुन्नासाथ प्रचण्ड ओलीकै अगाडि झस्किएको देख्दा माधव नेपाल ट्ँवा परे ।
हुन पनि प्रचण्डलाई ‘एकता’ भन्ने शब्द नै फाप्दैन । त्यसैले उनले हरेक भाषणमा सहकार्य, सहकार्य भन्दै आएका छन् । सहकार्य शब्द यति सस्तो भयो कि ‘स्वर्ग जाँदा पनि सहकार्य नर्क जाँदा पनि सहकार्य’ कसो नारानकाजी कमरेड ?
शंकर हैरान
लुते कुकुर तल परेपछि ङ्याइङ्याई माथि परे पनि ङ्याइङ्याई भनेझैं एमाले अध्यक्ष ओली सात बल्ड्याङ खाँदा पनि अझै हारेका हौं, मरेका होइनौं भन्दैछन् ।
अझ मदन भण्डारी जयन्तीमा उनले धुलो टकटक्याएर फेरि उठ्ने प्रण गरेका छन् । सामाजिक सञ्जाल बन्द गरेर त्यत्रा विद्यार्थी मार्ने ओलीलाई फेरि धुलो टकटक्याएर किन उठ्न मन लाग्या हो, कुरो नबुझेर शंकर पोखरेल हैरान भा’ छन् ।
कसो गोकुल कमरेड ?
एमालेको नीति र नेतृत्व कति सही छ, कति गलत छ भन्ने कुरा ओलीले मुखले बोलिरहनै पर्दैन । चारचार पटक प्रधानमन्त्री बनेका उनले केके बोले, केके भयो भन्ने कुरा एकपटक ठण्डा दिमागले सोचे थाहा भै हाल्छ ।
अझै सुखी नेपाली समृद्ध नेपाल रे, मौका पाउँदा संसद् विघटन गर्ने अनि समाजवाद भनेकै सुखी नेपाली समृद्ध नेपाल भन्न लाज लाग्दैन ? कसो गोकुल कमरेड ?
बालेनलाई तालिम
दुईतिहाइको सरकार संसद्मा एकतिहाइको पनि उपस्थिति नदेखेपछि सभामुख डोलप्रसाद अर्यालले टुलुटुलु खाली कुर्ची हेरेर कति बस्नु ?
त्यही भएर होला खासगरी रास्वपाका सांसदहरुलाई संसद्मा अनिवार्य उपस्थितिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लाज छोपेका छन् । रास्वपाका सांसदलाई सदनमा अनिवार्य उपस्थित हुन अभिमुखीकरण तालिम सञ्चालन गरिरहँदा प्रधानमन्त्री बालेनलाई पनि त्यो तालिममा सहभागी गराएको भए राम्रो हुने थियो कि कसो ज्ञानेन्द्र शाहीज्यू ?
जय घण्टी
रास्वपाका सुरुदेखि सक्रिय शालिन व्यक्तित्व मनिष झाले महामन्त्री पदमा जे सोचेर उम्मेदवारी दिएका थिए, आखिर परिणामले त्यसलाई सत्य सावित गरिदियो ।
मनिष झाले रवि दाइको नियत बुझेरै रास्वपामा टिके र गुटको अभ्यास नहोस् भनेर फेसबुकमा जे सत्य ओकेलेका थिए, आखिर परिणाम जय घण्टी नै भयो । यसका लागि रविदा’लाई बधाई छ है भन्दिनु कविन्द्र बुर्लाकोटीज्यू ?














