काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘ब्लू बस’ सञ्चालन गर्ने योजना ल्याएको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

यस योजनाका लागि साझा यातायातका बसहरू प्रयोग गरिने चर्चा चलिरहेको सन्दर्भमा उनले महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम भए पनि साझाको हरियो पहिचान परिवर्तन गर्न खोज्नु उपयुक्त नभएको बताएका छन् ।
साझा यातायातले विद्युतीय सवारी (इभी) प्रवर्द्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु नहुने उनको भनाइ रहेको छ । हरियो रङ केवल रङ मात्र नभएर वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक र हरेक क्षेत्रलाई हरित बनाउने राष्ट्रिय सङ्कल्प समेत भएको उनले बताए ।
महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल भए पनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु रहेको घिसिङले उल्लेख गरेका छन् ।
उनले रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक रहेको औँल्याउँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरी सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्ने धारणा राखेका छन् ।














