
काठमाडौं ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक आज विहान ११ बजे बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री बालेनकै तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने साथै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची रहेको छ ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।














