
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिपक्षी दलहरूको विरोधको शैलीका सन्दर्भमा सभामुखले गरेको व्यवहारमाथि प्रश्न उठाएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिमा प्रश्न उठाइरहेका छन् । यसमा जवाफ मागिरहेका छन् ।
सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने सन्दर्भमा आएको विरोधको शैली फेर्न सभामुखले विपक्षी दलहरूलाई आग्रह गरेका थिए । यसमाथि नै नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले प्रश्न उठाएका हुन् ।
‘आज सभामुख महोदयले आन्दोलनको रूप फेर्नको निमिक्त भन्नुभयो । उहाँले किन भन्न सक्नुभएन प्रधानमन्त्रीज्यू यहीँ आएर क्लियरीफाइ गर्नु भनेर’ सांसद हमालले भने ।
विपक्षी दलहरूले प्रधानमन्त्रीउपर उठेको विषयमा सभामुखले जवाफ दिने गरी रुलिङ गर्नुपर्ने माग समेत राख्दै आएका छन् । उल्टै विपक्षीलाई नै विरोधको शैली फेर्न भनेपछि नेकपाले प्रतिप्रश्न गरेको हो ।
राष्ट्रियताको सन्दर्भमा आफूहरू अडिग रहेको प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध गरिरहने सांसद हमालले बताए ।
गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिनेक्रममा ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए ।
प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि विपक्षीहरूले लगातार विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने होइन भने माफी माग्नुपर्ने विपक्षीको माग छ ।














