काठमाडौं । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिवार बिहान उपप्रमुख सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान बडहरीबाट विराटनगरतर्फ बिरामी बोकेर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल सवार प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक दीपेन्द्रकुमार महतोसहित बसन्तकुमार सिंह, रेणुकुमारी महतो, राजुदेवी र लक्ष्मी महतो घाइते भएका छन् । त्यस्तै सरकारी गाडी चालक बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्दा भुजेल र भीमराज भुजेल पनि घाइते भएका छन् ।
घाइतेमध्ये रेणुकुमारी महतोको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य सबैको अवस्था सामान्य रहेको छ । एम्बुलेन्समा सवार राजुदेवी पहिलेदेखि पक्षघातको उपचार गराइरहेकी बिरामी रहेको पनि जनाइएको छ ।
घाइते सबैलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैयामा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














