काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकार असफल भएको बताउँदै उनीहरूको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले सरकारले सुरक्षित राख्ने नाममा नागरिकलाई घरबारविहीन बनाएको र विस्थापित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले सार्वजनिक गरेका पीडा अत्यन्त गम्भीर, हृदयविदारक र संवेदनशील रहेको बताएका छन् ।
उनले एकातिर बस्ती खाली गराउने र अर्कोतर्फ सरकारले स्थापना गरेका होल्डिङ सेन्टरसमेत व्यवस्थित गर्न नसकी खाली गराउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
‘होल्डिङ सेन्टरमा आश्रित नागरिकलाई गाँस र पानीसमेत बन्द गरिनु अमानवीयताको पराकाष्ठा हो। सरकारले सुरक्षित भनेका होल्डिङ सेन्टर नै डुबानमा परेको समाचार आउनु झन् चिन्ताजनक विषय हो,’ पोखरेलले उल्लेख गरेका छन् ।
उनले असुरक्षित तथा अनधिकृत क्षेत्रमा रहेका सुकुम्वासीलाई हटाउनुअघि उचित व्यवस्थापन र पुनर्स्थापना गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकार त्यस जिम्मेवारीबाट चुकेको आरोप लगाए ।
सुकुम्वासी बस्ती खाली गराउनुलाई मात्रै उपलब्धि ठान्नु उचित नहुने भन्दै उनले विस्थापित परिवारको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको बताए । उनले सरकारले आफ्ना कमजोरी र त्रुटि सच्याउँदै विस्थापित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको न्यायोचित व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन् ।
उनले नागरिकलाई त्रास र सास्ती दिएर होइन, सुरक्षित आवास र बाँच्न पाउने मौलिक अधिकारको सम्मान गरेर मात्रै कानुनी राज्यको मर्यादा कायम रहन सक्ने धारणा व्यक्त गरेका छन् ।
साथै, गणेश नेपालीको घटनाजस्तै अर्को अप्रिय घटना दोहोरिन नदिन सरकार समयमै संवेदनशील बन्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।














