काठमाडौं । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका बाढी प्रभावित भूमिहीन सुकुम्वासीहरूको अवस्था बुझ्न गएका जेनेजी अभियानका अभियन्तामाथि भएको कुटपिट र पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ ।

सञ्जालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा माजिद अन्सारी, सरिस्मा थापा, नेलसल घटानीलगायत अभियन्तामाथि प्रहरीले अमानवीय व्यवहार गर्दै गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाएको छ । बाढी प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न र उनीहरूको पक्षमा आवाज उठाउन गएका अभियन्तामाथि बल प्रयोग गरी पक्राउ गर्नु अलोकतान्त्रिक र निरङ्कुश प्रवृत्तिको उदाहरण भएको विज्ञप्तिमा उल्लेख छ ।
सञ्जालले पीडित समुदायको पक्षमा उभिनु र राज्यसँग जबाफदेहिता माग्नु नागरिकको संवैधानिक अधिकार भएको भन्दै त्यसलाई अपराधसरह व्यवहार गर्नु अस्वीकार्य रहेको जनाएको छ ।
विज्ञप्तिमा सुकुम्वासी समस्या समाधानका नाममा वैकल्पिक व्यवस्थाविनै जबर्जस्ती विस्थापन गर्ने तथा प्रभावित समुदायलाई खाना र पानीजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित गरिएको आरोप लगाइएको छ । यस्तो अवस्थाबारे प्रश्न उठाउनेहरूमाथि नै दमन गरिनुले राज्यको मनसायप्रति गम्भीर प्रश्न उठेको सञ्जालको भनाइ छ ।
सञ्जालले यस्ता गतिविधिले संविधानले सुनिश्चित गरेका मौलिक अधिकार, कानुनी राज्यको सिद्धान्त र नागरिक स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुगेको जनाएको छ। भर्खरै जनादेश प्राप्त सरकारले मानव अधिकार रक्षकहरूमाथि दमनको नीति अपनाएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।














