काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको बोलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइतेको उद्धारका लागि शनिवार बझाङ पुगेको नेपाली सेनाको हेलिकप्टरले उनीहरूलाई नेपालगन्ज पुर्याएको हो । हेलिकप्टरले दुई–दुई जनाका दरले पालैपालो घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज लगिएका घाइतेमा दुर्गाथली गाउँपालिका–६ का रामबहादुर महता, हर्कादेवी महता, जयमतीदेवी महता, झल्कादेवी महता र केदारस्यूँ गाउँपालिका–७ का देवबहादुर धामी रहेका छन् ।
दुर्घटनापछि उनीहरूलाई उद्धार गरेर शनिवार राति जिल्ला अस्पताल बझाङ पुर्याइएको थियो । अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको हो ।
शनिवार दिउँसो बुंगल नगरपालिकाबाट दुर्गाथली गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिप केदारस्यूँ गाउँपालिका–७ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।
घटनापछि उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर शनिवार नै बझाङ पुगे पनि खराब मौसमका कारण दुर्घटनास्थलमा अवतरण गर्न सकेको थिएन । त्यसपछि हेलिकप्टर सदरमुकाम चैनपुरमा अवतरण गरेको थियो । राति ढिलो गरी घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएपछि आइतबार गम्भीर अवस्थाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको हो।














