काठमाडौं । नेपालमा गत बिहीवारदेखि शनिवारसम्म तीन दिनको अवधिमा तीन जनाले आत्मदाहको प्रयास गरे । तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भइसकेको छ भने एक जना उपचाररत रहेका छन् ।

पहिलो घटना बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा भयो, जहाँ नगरप्रहरीले मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि भनाभनको अवस्था पछि मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरे ।
वीर अस्पतालमा गणेश नेपालीलाई बचाउने ‘अथक प्रयास’ गर्दागर्दै उनको मृत्यु भएको शुक्रवार अधिकारीहरूले घोषणा गरे । उक्त मृत्युको घटनाले सडकदेखि सदनसम्म व्यापक आक्रोश निम्त्यायो । काठमाडौंमा लगातार दोस्रो दिन शनिवार पनि विरोध प्रदर्शन भयो ।
दोस्रो घटना मधेश प्रदेशको सर्लाहीमा शुक्रवार दिउँसो भयो । जिल्लाको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले आफ्नो घरनजिकै आत्मदाहको प्रयास गरे । उनले आत्मदाहको प्रयास किन गरे कारणबारे थप अनुसन्धान भइरहेको छ । तर उनका बुवाले बताउनुभएअनुसार मण्डललाई मानसिक स्वास्थ्य समस्या भन्ने प्रारम्भिक रूपमा बुझिएको छ ।
शुक्रवार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
तेस्रो घटना काठमाडौंको बुद्धनगरमा शनिवार बिहान भयो, जहाँ ४५ वर्षीय अश्विन राउतले आत्मदाहको प्रयास गरे । पछि उपचारका क्रममा उनको समेत मृत्यु भयो । घरायसी कारणले राउतले शरीरमा आगो लगाएको प्रारम्भिक रूपमा बुझिएको छ ।














