Logo
Logo

बालेनले गरिबको चमेली बोलिदिने कोही छ भन्नुपर्‍यो : विश्वप्रकाश शर्मा


63
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाहलाई जनताको समस्या सम्बोधन गर्न जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले साझा राष्ट्रिय मुद्दामा कांग्रेस सरकारको साथमा रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: bishwoprakas-sharma.jpg

एक भिडिओ सन्देश जारी गर्दै उपसभापति शर्माले भने, “विश्वकप फुटबल सेमिफाइनलमा पुगिसकेको छ । बिहानसम्म धेरैले हेरे पनि रहेका छन् । तर समाचारमा विश्वकप मात्र छैन । विकट गाउँबाट काठमाडौं आएका गणेश नेपालीले आत्मदाह गर्नुभयो, उहाँको शव अहिले उठाइँदै छ । कीर्तिपुरको होल्डिङ सेन्टरमा साना बालबालिकाहरू भोकले तड्पिरहेका छन् भने वृद्ध आमाबाबुहरू रोगले थलिएका छन् ।”

उनले यो संवेदनशील समयमा सरकारलाई प्रश्न घेरेर होइन, आशा जगाउने गरी सहकार्य गर्न तयार रहेको बताए । शर्माले भने, “हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो, आज गणेश नेपालीले । नेतृत्वप्रतिको विश्वास किन क्रमशः खस्किँदै छ ? यो मुख्य प्रश्न हो । हामी यसलाई राजनीतिक कोणबाट हेर्न चाहँदैनौँ । यदि समाजमा आशा मर्दै गयो भने, त्यसलाई फर्काउन अझ ढिलो हुन्छ। यसप्रति गम्भीर हुन जरुरी छ।”

जनताको असह्य पीडाप्रति संवेदनशील हुँदै उनले भने, “हामी सरकार खोजिरहेका छौँ, सरकारलाई साथ दिन खोजिरहेका छौँ । प्रधानमन्त्रीज्यू, तपाईँ प्रधानमन्त्री बन्नुअघिको त्यो कोमल हृदय जुन थियो — जसले ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भनेर गुनगुनाउनुहुन्थ्यो-आज त्यही आवाज प्रधानमन्त्रीबाट आउनुपर्छ । गरिबको चमेली बोलिदिने कोही छ भन्ने आशा जगाउनुपर्छ, विश्वास जगाउनुपर्छ।”

होल्डिङ सेन्टरमा एक छाक खाना नपाएर भोकै बस्नुपर्ने अवस्था तत्काल अन्त्य गर्न आग्रह गर्दै शर्माले भने, “हामी सरकारको साथमा उभिन चाहन्छौँ, हात लम्काउन चाहन्छौँ। अघि बढ्नुहोस्, विषयको गम्भीरता र कारुणिकतालाई सम्बोधन गर्नुहोस् । देश तपाईँको साथमा उभिनेछ, हामी पनि साथमा उभिनेछौँ । यो पक्ष–विपक्ष वा सत्ता–विपक्षको प्रश्न होइन, यो समाजमा आशा जगाउने प्रश्न हो ।”

प्रतिक्रिया दिनुहोस्