Logo
Logo

नयाँ राहदानी प्रणाली सञ्चालनमा


63
Shares

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो तथ्याङ्क स्थानान्तरण (डेटा माइग्रेसन) सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

The current image has no alternative text. The file name is: rahadani.jpg

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले सोमबारदेखि करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरी सेवा सुरु गरिएको जानकारी दिएको हो ।

विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या, प्रणाली सुस्त चल्ने अवस्था तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक भएको भन्दै यी समस्यालाई समाधान गर्न विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको जनाएको छ ।

विभागले देखिएका समस्या छिटो समाधान गर्दै दीर्घकालीन रूपमा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ । नयाँ प्रणाली स्थिर र प्रभावकारी बनाउन सुरुआती चरणमा राहदानी अत्यावश्यक परेका सेवाग्राहीले मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । यसबाट प्रणालीमा पर्ने चाप कम भई सेवा थप व्यवस्थित हुने विभागको विश्वास छ ।

यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन पनि विभागले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागले नागरिकको विश्वास, धैर्यता र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चुस्त, छरितो र विश्वसनीय राहदानी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्