Logo
Logo

सञ्चारगृह अगाडि राखिएका गाडी प्रहरीले उठाउन थाल्यो


63
Shares

काठमाडौं । विभिन्न सञ्चारमाध्यामका कार्यालय अगाडि पार्किङ गरिएका गाडी प्रहरीले हटाउन थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ती गाडी प्रहरीले उठाएर ल्याउने र अनुसन्धान गर्ने छ ।

The current image has no alternative text. The file name is: sanchar-girha.jpg

कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन र अनामनगर भाटभटेनी नजिक कार्यालय आउजाउमै अवरोध पुग्ने गरी गाडी राखिएको छ । भट्टराईका अनुसार ती ठाउँमा प्रहरी पुगिसकेको छ । भट्टराईले गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिने बताएका छन् ।   

तीनकुनेस्थित कान्तिपुरको कार्यालय अगाडि रोकिएको गाडी प्रहरीले क्रेन लगाएर उठाएको छ । अनलाइनखबर र हिमालयन टेलीभिजन अगाडिको गाडी पनि हटाउने तयारी गरेको छ । चारवटै स्थानमा राखिएका गाडी निजी नम्बर प्लेटका छन् । ती कसले र किन राख्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

यसैबीच नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चारमाध्यमको कार्यालयको गेटमै शङ्कास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतङ्क सिर्जना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले सञ्चार गृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै महासङ्घले घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया दिनुहोस्