Logo
Logo

हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोप्लास्टी


63
Shares

काठमाडौं । मुटुका दुईवटा महत्त्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर ‘हर्ट अट्याक’ (हृदयाघात) भएका ५५ वर्षीय एक बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार गरिएको छ। समयमै गरिएको एन्जियोग्राफी तथा एन्जियोप्लास्टीमार्फत ती बिरामीको ज्यान बचाउन चिकित्सकहरू सफल भएका हुन्। चिकित्सकहरूको तत्कालको तत्परताका कारण मृत्युको मुखबाट जोगिएका बिरामी अहिले पूर्ण रूपमा खतरामुक्त छन्।

कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदी निवासी ५५ वर्षीय पदमबहादुर तामाङलाई असार २४ गते बिहान अचानक तीव्र छाती दुख्ने, रिङटा लाग्ने तथा अत्यधिक असहज महसुस भएको थियो। सुरुमा परिवारले यसलाई सामान्य स्वास्थ्य समस्या ठानेर स्थानीय झाँक्रीलाई समेत देखाएका थिए। तर, स्वास्थ्य अवस्था झन् बिग्रँदै गएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) को आपत्कालीन (इमर्जेन्सी) विभागमा ल्याइएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले तत्काल ईसीजी र आवश्यक रक्त परीक्षण गरेपछि उनलाई गम्भीर हृदयाघात भएको पुष्टि भयो। त्यसपछि एक क्षण पनि ढिलाइ नगरी उनलाई ‘क्याथल्याब’मा लगिएको थियो।

नेपाल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्यराज पाठकको नेतृत्वमा रहेको कार्डियाक टोलीले एन्जियोग्राफी गर्दा मुटुका दुईवटा महत्त्वपूर्ण धमनी पूर्ण रूपमा बन्द भएको फेला पारेको थियो। त्यसलगत्तै टोलीले तत्काल एन्जियोप्लास्टी गरी स्टेन्ट (Stent) मार्फत दुवै नसा सफलतापूर्वक खुलाएको थियो।

“बिरामी अस्पताल आइपुग्दा अवस्था निकै नाजुक थियो। हामीले समयमै परीक्षण गरेर तुरुन्तै क्याथल्याबमा लग्यौं। एन्जियोग्राफी गर्दा मुटुका दुईवटा मुख्य नसा बन्द भएको देखियो र तत्काल प्रकृया अघि बढाएर रक्तसञ्चार पुनः सुचारु गर्‍यौं,” डा. पाठकले भने।

डा. पाठकका अनुसार बिरामी लामो समयदेखि मधुमेहबाट पीडित भए पनि नियमित रूपमा औषधि सेवन नगरेका कारण जोखिम बढेको हो। उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको उच्च मात्रा, धूम्रपान, मद्यपान तथा शारीरिक निष्क्रियता हर्ट अट्याकका प्रमुख कारक हुन्।

डा. पाठकले सुझाव दिँदै भने, “उच्च रक्तचाप, मधुमेह वा कोलेस्ट्रोलको समस्या भएका, धूम्रपान वा मद्यपान गर्ने र शारीरिक रूपमा सक्रिय नरहेका व्यक्तिहरूमा हर्ट अट्याकको जोखिम धेरै हुन्छ। छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने वा रिङटा लाग्ने जस्ता लक्षण देखिनासाथ ढिला नगरी अस्पताल पुग्नुपर्छ।”

सफल उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधासम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सक उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए।

“हामी सामान्य खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने मान्छे हौं। यति छिटो र सहज रूपमा उपचार पाइएला भन्ने सोचेकै थिएनौं। समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ। नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म हृदयदेखि नै आभारी छु,” तामाङले खुसी व्यक्त गरे।

डा. पाठकका अनुसार नेपाल मेडिकल कलेजमा क्याथल्याब सेवा सञ्चालनमा आएपछि काठमाडौंको उत्तरपूर्वी क्षेत्र तथा आसपासका जिल्लाका मुटुरोगीहरूलाई ठूलो राहत मिलेको छ। पछिल्ला महिनाहरूमा मुटुरोग तथा विशेषगरी हर्ट अट्याकका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको उनले जानकारी दिए।

हृदयाघातको शङ्का लाग्नेबित्तिकै समय खेर नफाली विशेषज्ञ सेवा उपलब्ध हुने अस्पताल पुग्न आग्रह गर्दै डा. पाठकले समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान जोगाउन सकिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्