काठमाडौं । नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ । बैंकले वार्षिकोत्सवका अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको जनाएको छ ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे । उनले यो यात्राको साक्षी बनिरहँदा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठुलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको, बरु सधैँ त्यसको नेतृत्व गरेको बताए ।
अध्यक्ष चौधरीले भने, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ । आज नबिलले वाणिज्य बैंकिङ, इन्भेस्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ ।’ अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठुलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को युगमा बैंक प्रवेश गरेको घोषणा गरे ।
एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनः परिभाषित गरिरहेको उनले बताए ।यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा गौरवमय उचाइसम्म आइपुगेको बताए । ‘यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहक र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नवीनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौँ । हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौँ, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौँ । हाम्रा लागि यही हो बैंकिङ एन्ड बियोन्ड,’ सिइओ ज्ञवालीले भने ।
बैंकले हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड, ऊर्जामा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्योगमा ४५ अर्ब ९२ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब, १० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले पुनर्निर्माण घरकर्जा योजना, लकर र गेटवेमा छुट, क्रेडिट र डेबिट कार्ड अफर पनि ल्याएको छ ।














