काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ । सवारी साधनहरू बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ ।

नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरू छाडिएको छैन ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा-मुग्लिन-नारायणगढ आउजाउ गर्न सवारी साधनलाई रोक लगाइएको छ । चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ ।
यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ ।
फर्पिङ-फाखेल-सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ ।
जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।














