काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दै छ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यसपछि उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी बैठकमा अन्तर्राष्ट्रिय सन्धिमाथि पनि छलफल र अनुमोदनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उक्त प्रोटोकल अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् ।
त्यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।














