Logo
Logo

राज्यकै संरक्षणमा गाडी तेर्स्याउने काम भयो : सुमना श्रेष्ठ


126
Shares

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी तेर्स्याएर अवरोध गर्ने कार्यलाई राज्यले नै संरक्षण गरेको बताएकी छन् ।  सोमबार फेसबुकमार्फत् उनले हालै काठमाडौंमा सञ्चार माध्यमदेखि सडकमा जथाभावी पार्किङ गरेर सन्देश दिने रणनीतिले राज्य र जनताबीचको विश्वासलाई जबरजस्ती क्षयीकरण गरिरहेको बताएकी हुन् । राज्यको माथिल्लो तहमा बस्नेहरूले ‘पाठ सिकाउने’ नाममा गरिरहेको बुलिङ अर्थात् धम्क्याउने प्रवृत्तिले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको उनको निष्कर्ष छ ।

The current image has no alternative text. The file name is: Sumana-Shrestha-12025-04-09-16-25-33.jpg

श्रेष्ठले नेतृत्व तहमा बस्नेहरूले फरक मत राख्नेहरूलाई पेल्ने र पाठ सिकाउने शैली अपनाएको भन्दै कडा आलोचना गरेकी छन् । उनले भनेकी छन्, ‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। गाडीहरू पहिचान गर्न सजिलो छ, तर जसले सडकको बीचमा गाडी छाडे, उनीहरूले जे गरे पनि आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरे। यो नै क्रोनिजम (आसेपासे पोस्ने प्रवृत्ति) हो ।’ 

नेतृत्वले सबैको सेवा गर्नुपर्ने कुरा महसुस गर्नुको साटो फरक सोच र कार्यशैली भएकाहरूमाथि बुलिङ गरिरहेको उनको भनाइ छ । शक्तिमा रहुन्जेल जे पनि गर्न सकिन्छ भन्ने अल्पकालीन सोचले दीर्घकालीन समृद्धिका योजनाहरू कहिल्यै सफल नहुने उनले दाबी गरेकी छन् ।

श्रेष्ठले जनता र सुरक्षाकर्मीबीच अविश्वास पैदा हुनु कसैको हितमा नभएको स्पष्ट पारेकी छन् । स्थानीय सरकारपछि जनताको सबैभन्दा नजिकको राज्यको प्रतिनिधि प्रहरी नै भएको भन्दै उनले प्रहरीलाई दोष दिन नहुने बताएकी छन्।

श्रेष्ठले शान्ति सुरक्षालाई अर्थतन्त्रको जगका रूपमा व्याख्या गर्दै भनेकी छन्, ‘जसरी उद्योग फस्टाउन स्थिर बृहत् अर्थतन्त्र चाहिन्छ, त्यसरी नै स्थिर अर्थतन्त्रका लागि शान्ति सुरक्षा पहिलो आधार हो ।’

‘हामीलाई यति छिटो पक्ष लिन बाध्य पारिन्छ कि हामी बिर्सन्छौँ( हाम्रो लडाइँ कहिल्यै बर्दीमा भएका सुरक्षाकर्मीसँग थिएन। यो लडाइँ सधैँ माथिल्लो तहमा बस्नेहरूसँग हो,’ श्रेष्ठले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्