Logo
Logo

राँके–रबी–भेडेटार सडक निर्माणमा मन्त्री नेम्वाङको चासो


- दृष्टि न्युज/संवाददाता


पाँचथर, २९ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माणलाई गतिदिन मन्त्रालयले तत्कालै उपयुक्त निर्णय लिने बताउनु भएको छ । आइतबार यस सडक निर्माणमा देखिएका समस्यासम्बन्धी धनकुटाको ६ नं. बुधबारेमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री नेम्वाङले राँके–रबी–भेडेटार सडक खण्ड निर्माणमा देखिएको समस्याप्रति स्थानीय जनप्रतिनीधि र स्थानीयवासीहरुलाई जस्तै आफुलाई पनि चासो रहेकाले दोस्रो पटक मन्त्रालयका टिम नै लिएर स्थलगत अनुगमन र अन्तरक्रिया गर्न आएको बताउनु भयो । उहाँले भन्नु भयो यो ढिलासुस्ती संधै हुन्न हामी फर्किएर गहन छलफल गरी निर्माण कार्यलाई गति दिन एउटा निर्णयमा पुग्नेछौ । छिटो निर्माण कार्य सम्पन गर्न ठेक्का तोडेर जानु पर्ने भयो भने पनि हामी त्यो कार्यलाई अगाडी बढाउने छौ ।

उहाँले निर्माण कार्यमा देखिएका समस्यालाई समाधान गर्न स्थानीयत जनप्रतिनीधि र सरोकावालाहरुले दिएको गहन सुझावलाई आत्मसाथ गर्दै नीतिगत रुपमा गर्नु पर्ने सुधारहरु मन्त्रालयले गर्ने बताउनु भयो । मन्त्री नेम्वाङले समस्याको समाधान सिर्जनात्मक, सकारात्मक र समन्वयात्मक भूमिकाले मात्र हुने भन्दै निर्माण व्यवसायीले कामको जिम्मा लिएपछि समयमै सम्पन्न गर्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले निर्माण कार्यमा केहि नीतिगत समस्या देखिएपनि कामलाई नै अवरोध हुने किसिमको नभएको उल्लेख गर्नु भयो । निर्माण व्यवसायीले अन्तिम पटक यो नोभेम्बरसम्म २० प्रतिशत कार्यप्रगती पुर्याउने प्रतिवद्धता जाहेर गरेपनि त्यो अनुसार काम नभएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, मोरङका संघीय सांसद घनश्याम खतिवडा, सडक क्षेत्रमा पर्ने पालिकाहरुका जनप्रतिनीधि सरोकारवाला, सर्वसाधारण सहभागी रहनु भएको थियो । मेची र कोसी राजमार्ग जोड्ने यस सडक कालोपत्रेका लागि २०७५ पुष २० गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

यस आयोजनाका लागि भारतको आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर ३ करोड २६ लाख १८ हजार ५ सय ४१ मा ठेक्का सम्झौता भएको हो । १ सय १ किलोमिटर लामो यो सडकको भारतीय कम्पनी एप्कोले निर्माणको जिम्मा लिएको छ । यति लामो सडक खण्डमा केहि ठाउँ कल्भर्ट बाहेक पूलहरु बनाउनुपर्ने अवस्था छैन ।

त्यस्तै मन्त्री नेबाङ्गले आइतबार बिहान पूर्वका तीन वटा जिल्ला झापा इलाम र पाँचथरलाई जोड्ने दमक—चिसापानी पञ्चमी सडकको समेत स्थलगत निरीक्षण गर्नुभएको छ । निर्माण कार्यको प्रगति स्थलगत रुपमै बुझ्न मन्त्री सहित मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायतको टोलीले आइतबार स्थलगत निरीक्षण गर्नु भएको हो ।

निरीक्षणका क्रममा मन्त्री नेम्वाङले सडक निर्माणका क्रममा स्थानीय स्तरमा देखा परेका समस्याहरु, निर्माण कम्पनी र मातहतका निकायको भूमिका लगायतका विषयमा झापा, इलाम र पाँचथरका स्थानीयवासीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु लगायतसँग अन्तरक्रिया समेत गर्नु भएको छ । मन्त्री नेबाङ्गले उच्च सरकारी प्राथमिकतामा रहेको तथा पहाडी क्षेत्रलाई तराईसँग सहज सडक पहुँच पु¥याउने उक्त सडकको निर्माण समयमै सम्पन्न गर्न निर्देशक समेत दिनुभएको छ । २०७६ फागुन ४ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दमक—चिसापानी सडकको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्