Logo

अक्षरले आगो ओकल्छ


- दृष्टि न्युज/संवाददाता


भ्वाइड– एउटा शून्यता, वसन्त लोहनीको अंग्रेजीमा लेखिएको कविता संग्रह अब इ–बुकमा पनि पढ्न पाइनेछ । अक्षर पब्लिकेशनले प्रकाशित गरेको उक्त कविता संग्रहमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लोहनीका कविताहरुको संकलन छन् । यसमध्ये एउटा कविता त्रिभुवन विश्वविद्यालयको अंग्रेजी साहित्यको स्नातकोत्तर तहको पाठ्यक्रमा पनि समावेश गरिएको छ ।

अर्थ–राजनीतिक विष्लेषक लोहनीले सुरुदेखि नै दुईवटा कुरा भन्दै आएका छन्– पहिलो, नेपालमा मध्यम वर्ग आफैमा शक्ति होइन, तर परिवर्तनको सशक्त संवाहक हो । कार्लमाक्र्सले सर्वहारा वर्गलाई प्रयोग गरेको शव्द ‘प्राइम मुभर’ पैचो लिएर उनले लेख्दै आएका छन् । नेपालको सन्दर्भमा ‘प्राइम मुभर’ यो मध्यम वर्ग नै हो । यो वर्ग आफै शक्ति नभएपनि यसले नै परिवर्तन गराउँदै आएको छ । कसरी ? उनी भन्छन्, जब यसले धारणा बनाउँछ, त्यो विस्तारै तलसम्म सर्कुलेट अर्थात् फैलिँदै गएपछि त्यो नै राष्ट्रको ‘प्यासन’ बन्दछ । यसरी यो वर्ग आफैँमा शक्ति नभएर पनि परिवर्तनको सशक्त संवाहक हो ।

सन् १९७२ देखि अग्रेजी पत्रिकाहरु (दि कमनर र दि मदरल्याण्डबाट लेखनयात्रा शुरु गरेका लोहनीलाई कवि, साहित्यकार मात्र होइन, एउटा सम्पादक भनेर पनि चिनिन्छ । कुनै बेला लोहनीले आफ्नो लगानीमा ‘परिस्थिति’ साप्ताहिक प्रकाशित गर्थे । तर कविताको यात्रा उनको अझ अगाडिबाट नै शुरु भएको थियो । उनी भन्छन्, ‘स्कूल छँदादेखि आफैसँग कवितामा संवाद गर्दा रमाउथे म’ । उनका कविता स्कुलका भित्ते पत्रिका र स्कूलको म्यागजिनमा छापिन्थे ।

कवि लोहनीको परिचय कवि, साहित्यकार, सम्पादकमा मात्र सीमित छैन । उनी एक जनामाको उद्योगपति पनि हुन । उनले रुपन्देही उद्योग संघको संस्थापक महासचिव बनेर उक्त संस्थालाई अगाडि बढाउन धेरै नै संघर्ष गर्नुपरेको थियो । आठ वर्षसम्म बुटवलमा घिउ उद्योग सञ्चालन गर्दाको बेला २०३६ जेठ १० गतेको जनमत संग्रहको घोषणा भयो । त्यसले खोलिदिएको अभिव्यक्ति स्वतन्त्रताको ढोकाबाट वाहिर निस्केका लोहनी बहुदलको लागि भाषण गर्दै हिँडे । धेरै नेताहरुलाई आर्थिक सहयोग गरेर बहुदलको पक्षमा प्रचार प्रसार गर्न उत्साहित बनाए । बहुदलको प्रचार प्रसारमा बुटवल पुग्ने नेताहरु उनीकहाँ एकपटक पस्थे । त्यसै क्रममा मनमोहन अधिकारीसँग घनिष्टता बढ्यो । र, यसै क्रममा उद्योग छोडेर उनी काठमाडौंमा पत्रकारितामा होमिए । त्यस क्रममा उनी विपी कोइरालासँग पनि जोडिए । आफ्नो पत्रिकामा अन्तर्वार्ता लिन उनी आफैँ कुद्थे ।

पत्रकारिता गर्दा त्यतिबेलाका बहुदलवादी नेताहरु विशेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, ऋषिकेश शाहलगायतका नेताहरुको अन्तर्वार्ता र टिप्पणी उनले आफ्नै सम्पादनको पत्रिका ‘परिस्थिति’ मा प्रकाशित गरेका थिए । र, गणेशमान सिंहलाई पहिलोपटक ‘लौह पुरुष’ को सम्बोधन गरेर लेखेका थिए ।

यस क्रममा उनले थुप्रै पत्रपत्रिकाहरुमा नियमित रुपमा स्तम्भकारका रुपमा कलम चलाउन थाले । दि काठमाडौं पोस्ट, कान्तिपुर, देशान्तर, दि स्पेस टाइम टुडे, स्पेस टाइम दैनिक, खबर कागज, दृष्टि साप्ताहिक, दि राइजिङ नेपाल, अन्नपूर्ण पोस्टलगाएत अरु धेरैमा । उनका लेखलाई ख्यातिप्राप्त विदेशी दैनिकले साभार भनेर छापेका छन् र कतिले उद्धरण गरेका छन् । क्यानाडाको प्रसिद्ध पत्रिका ‘दि ग्लोव एण्ड मेल’, जसलाई त्यहाँ ‘न्यूज पेपर अफ रेर्कड’ पनि भनिन्छ, ‘मेल’ले लोहनीको विश्लेषणबाट उद्धरण गर्दा उनलाई ‘नेपालको प्रसिद्ध राजनीतिक विश्लेषक’ भनेर लेख्ने गर्दथ्यो ।

अर्थ–राजनीतिक विष्लेषक लोहनीले सुरुदेखि नै दुईवटा कुरा भन्दै आएका छन् । पहिलो, नेपालमा मध्यम वर्ग आफैमा शक्ति होइन, तर परिवर्तनको सशक्त संवाहक हो । कार्लमाक्र्सले सर्वहारा वर्गलाई प्रयोग गरेको शव्द ‘प्राइम मुभर’ पैचो लिएर उनले लेख्दै आएका छन् । नेपालको सन्दर्भमा ‘प्राइम मुभर’ यो मध्यम वर्ग नै हो । यो वर्ग आफै शक्ति नभएपनि यसले नै परिवर्तन गराउँदै आएको छ । कसरी ? उनी भन्छन्, जब यसले धारणा बनाउँछ, त्यो विस्तारै तलसम्म सर्कुलेट अर्थात् फैलिँदै गएपछि त्यो नै राष्ट्रको ‘प्यासन’ बन्दछ । यसरी यो वर्ग आफैँमा शक्ति नभएर पनि परिवर्तनको सशक्त संवाहक हो ।

दोस्रो, नेपालको राजनीति मूलतः एउटा ग्रसित मानसिकताबाट सञ्चालित छ । विदेशी मालिकलाई नरिझाइकन सत्तामा पुग्न सकिँदैन र सत्तामा टिक्न पनि सकिँदैन भन्ने यो मानसिकताबाट निःसृत राजनीति भएको कारणले गर्दा नेपालको राजनीति आहिलेसम्म ‘थेग्रिन’ सकेको छैन । ‘थेग्रिन’ नदिने शक्तिहरुको खेलवाडले गर्दा नेपालको आन्तरिक तागत स्वहा हुँदै गइरहेको छ र विदेशीहरुसँगको निर्भरता खतरनाक ढंगले बढ्दै गएको छ । निर्भरता आर्थिक मात्र होइन् । अर्थसँग मिसिएको राजनीतिक निर्भरता झन् डरलाग्दो हुँदै गएको छ ।

‘प्रत्येक नेपालीको हाँस्ने र बाँच्ने साझा चोक हो नेपाल’ भन्छन् लोहनी । यसैको सेरोफेरोमा, यसै घामपानीमा, यसै मेलापातमा, यसैको हासो र रोदनमा उनको अन्तर आवाज कुदिएकका छन्, अनि झंकृत भएका छन् भ्वाइडको अर्थात् यस शून्यताको यस कविता संग्रहमा । सत्ताको ‘अर्जुन दृष्टि’ मा होइन पसिना चुहाएर आफ्नो मुलुकमा बाँच्न नपाएका नेपालीहरुको लागि ‘नेपाल दृष्टि’ मुलुक हाक्नेहरुमा चाहियो भन्ने वसन्त लोहनीको यस कविता संग्रहमा देखिएको उनको क्षमता हो– उनी शब्दसँग खेल्न सक्छन, चुन्न सक्छन्, रम्न सक्छन् र लहडिन सक्छन् । उनको कवितामा निडरता र स्पष्ट दृष्टिकोण देखिन्छ । समाजले भोगिरहेका अनेकौं विकृतिलाई उनले कविता कोर्दा शब्दमा, साहित्य लेख्दा भावमा र पत्रपत्रिकामा लेख लेख्दा उनको अक्षर अक्षरले आगो ओकल्छ । शब्द, भाव र अक्षरको संयोजन हो जस्तो लाग्छ लोहनीका सिर्जना ।

 

प्रतिक्रिया दिनुहोस्