Logo
Logo

रामचन्द्रले तताएको कांग्रेस रन्किन्छ कि थन्किन्छ ?


- दृष्टि न्युज/संवाददाता


नेपाली कांग्रेसले सोमबार देशभरका ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्यो । यसले नेपालमा नेपाली कांग्रेस नामको पार्टी अझै ज्यूँदै रहेछ भन्ने सन्देश दिएको छ । पार्टीको अस्तित्वबोध गराएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धन्यवाद दिनै पर्दछ । उनले ब्यास नगरपालिकाको वडाको खोल्सा जोड्ने कल्भर्ट उद्घाटनको लागि आफ्नो गृहजिल्ला तनहुँ पुगेर बुल्दिखोला छेऊ पुग्ने कष्ट नगरिदिएको भए उनी प्रहरी हिराशतको पाहुना बन्न पाउने थिएनन्् । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेको अभियोगमा उनलाई गिरफ्तार गरेर प्रहरीले कुर्मुर्याउदै आफ्नो गाडीमा कोचेर हिराशतमा नपुर्याएको भए नेपाली कांग्रेस यो देशव्यापी विरोध प्रदर्शन आयोजना गर्ने थिएन । कुम्भकर्णे निद्रामा सुतेर बसेको नेपाली कांग्रेसका केन्द्रदेखि जिल्ला तहसम्मका नेता र कार्यकर्ताहरुलाई ब्युझाइदिएकोमा नेपाली कांग्रेस तनहुँको प्रहरी र प्रशासनप्रति अनुगृहित पो हुनुपर्ने हो कि ?

आजको विरोध प्रदर्शन नभएको भए देउवाले हिजो निर्धारित संवैधानिक परिषद् बैठक उपस्थिति जनाउने कांग्रेस नेताहरु बताउँछन् । उनी आईजीपी बनाउन नसकिएका पूर्वएआइजी जयबहादुर चन्दलाई अख्तियारमा आयुक्त बनाउन लालयित छन् । प्रधानमन्त्री ओली अख्तियारमा पूर्वसचिव प्रेमकुमार राईलाई उभ्याएर माधव नेपाल र प्रचण्डहरुमाथि डण्डा वर्षाउन उत्सुक छन् ।

२०७४ सालको प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनसामु शर्मनाक ढंगले पराजित भएको नेपाली कांग्रेसको अस्तित्व त्यस यता कतै देखिएको छैन् । पार्टीको संगठनमा गति ल्याउनका लागि गतबर्ष देशब्यापी जनजागरण अभियान सञ्चालन त भयो तर, सो अभियान सुरुमा निर्धारण गरे अनुरुप समापनसम्म आइपुगेन । गत चैत्र ११ पछि त कोरोना भाइरसको विश्वब्यापी महामारी र त्यसलाई रोक्न लगाइएको लकडाउन तथा निषेधाज्ञा नेपाली कांग्रेसका अल्छि नेताहरुको लागि बहानावाजी भएको छ । कोरोना संकटकै बीचमा कोरोनाले सबैभन्दा बढी प्रभावित अमेरिकाजस्तो विशाल देशमा राष्ट्रपतिको निर्वाचन भयो । भारतको विहारमा विधानसभाको निर्वाचन भयो र अन्य ११ राज्यमा राज्य विधानसभाका उपनिर्वाचनहरु निर्वाध रुपमा सम्पन्न भए । तर आफूलाई लोकतन्त्रको मसिहा भन्ने नेपाली कांग्रेसले आफू सत्तामा नरहेको बेलामा समेत पार्टीको महाधिवेशन समयमा गर्न सकेन । गत बर्ष नै नियमित कार्यकाल सकिएको पार्टीको कार्यसमितिको कार्यकाल विशेष परिस्थिति देखाएर १ बर्ष थपेर यही फागुन महिनाको ७ गतेदेखि काठमाडौंमा १४ औ महाधिवेशन गर्न सार्वजनिक गरिएको समय तालिका अनुसार पनि नेपाली कांग्रेस चल्न सकेको छैन् । अहिलेसम्म पार्टीका क्रियाशील सदस्यता नवीकरण नसकेको र नयाँ सदस्यता वितरणमा प्रवेश गर्न नभ्याएको कांग्रेसको संगठन यति ध्वस्त भएको छ कि यो फागुन त हैन आउदो फागुनमा पनि यसको अधिवेशन हुने कुनै टुंगो छैन ।

पार्टीका सभापति शेरबहादुर देउवाको भ्रष्टहरुसंगको हिमचिम, गुट केन्द्रित राजनीति, आपसी झगडा, कुनै पनि काम योजनाबद्ध ढंगले गर्न नसक्ने लठैत युवा र कुनै सिर्जनशील काम गर्न नसक्ने र जनताको ढुकढुकी छाम्न असफल भएका छन् । तर भ्रष्टाचारको धनले परिपूर्ण केही दर्जन नेताहरुको सुस्ताउने चौतारीको रुपमा रुपान्तरित हुँदै गएको नेपाली कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका साथै प्रादेशिक सभामा पनि प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरु भ्रष्टाचारमा डुबेको, प्रधानमन्त्रीले भ्रष्टाचारीलाई गन्हाउने गरी काखीमा च्यापेको, सरकारले देशमा फैलिएको महामारी लगायतका रोगको रोकथाम र नियन्त्रण गर्न नसकेको, आरोप लगाउँदा कांग्रेसका सांसदको भूमिका ताली पिट्ने मात्र भयो । सरकारले कोभिडको बेलामा पनि महंगी नियन्त्रण गर्न नसकेको,संविधानले मौलिक हकको रुपमा राखेको स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता आधारभूत सेवा दिन नसकेको, महिला र बालबालिकाको सुरक्षा गर्न नसकेको, जातीय विभेद अन्त गर्न नसकेको, विकास आयोजनाहरु सम्पन्न गर्न नसकेको, प्रशासनिक ढिलासुस्ती बढेको, घुसखोरी र आर्थिक अनियमितता बढेको जस्ता आरोप लगाउदै सरकारका मन्त्रीहरुको झ्याको झार्दा पनि प्रमुख प्रतिपक्षी दलका नेताहरु गाँजा र भाङ धतुरो खाएका अम्मली झै उगेर बसेका छन् । वाइडबडी, न्यारोबडी, यति होल्ङिस्, एमसीसी, सेक्युरिटी प्रेस, ३३ किलो सुन, निर्मला पन्तलगायतका महिला बलात्कार र हत्याकाण्ड, ओम्नी प्रकरण, फाष्ट ट्रयाकको परामर्श काण्ड कुनै पनि प्रकरणको उठान कांग्रेसले गर्न सकेन ।

प्रतिस्पर्धात्मक बहुदलीय संसदीय राजनीतिक व्यवस्थाा विश्वास गर्ने नेपाली कांग्रेस जस्तो पार्टीको संसदीय दलमा चालु वा आगामी अधिवेशनका एजेण्डाका विषयमा देशमा सरकारले लिएका र ल्याएका नीति,कार्यक्रम ऐन, निर्देशिकाका विषयमा, संसदका विभिन्न समितिमा भैरकेका मिटिङ र त्यसमा पार्टीको दृष्टिकोणका बारेमा कुनै छलफल, परामर्श हुने गरेको छैन् । नेपाली काग्रेसले भन्दै आएका युवा नेता बालकृष्ण खाँड नै संसदीय दलको प्रमुख सचेतक भएको बेलामा देखिएको मस्ताराम चालले नेपाली कांग्रेस अब देशको आवश्यकता अनुसारको राजनीतिक,आर्थिक तथा सामाजिक विकासका काम गर्न र जनताको आवाज मुखरित गर्न असक्षम र असान्दर्भिक हुँदै गएको छनक दिएका छन् ।

कांग्रेसका सांसद र केन्द्रीय सदस्यहरुदेखि जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको दम्पत्तीलाई प्रदक्षिणा गरेपछि महादेव पार्वतीलाई साक्षात्कार गरेर वरदान पाए सरह हुन्छ भन्ने छाप परेको छ । कांग्रेसका नेता कार्यकता जनताको घरदैलोमा हैन, देउवा निवासमा जम्मा भएर संगठन बलियो भएको गुड्डी हाँकीरहेका छन् । रामचन्द्र पौडेल,डा. शशांक, डा.शेखर, सुजाता, विमलेन्द्र निधि,प्रकाशमान सिंह जस्ता नेताहरुको गुटैगुटमा विभक्त भएर छियाछिया भएको नेपाली कांग्रेसमा अरु गुटका नेताहरुले आउजाउ बहिष्कार गर्दा देउवाको नेपाली कांग्रेस खिइएर कत्रो भएको होला सहजै अनुमान गर्न सकिन्छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले यसलाई विपक्षी दलको भद्रता भनिएको भएपनि त्यो पैसा र पद भनेपछि पार्टी फोड्न र पार्टीको आदर्श,सिद्धान्त,मूल्य मान्यता बेच्न पनि तयार हुने पार्टी सभापति देउवाको नामर्दीपनाको लाज ढाक्न जोहो गरिएको नक्कली आवरण मात्र हो भन्ने कुरामा अब शंका रहेन । नत्र कांग्रेस सम्मिलित संयुक्त सरकारले नियुक्त गरेका अरु देशका राजदूत फर्कदा सभापति देउवाकी सासु तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ प्रतिभा राणा जापानमा किन टिकिरहेकी छन् ? प्रधानमन्त्री ओलीले बोलाउने बित्तिकै देउवा किन लुरुलुरु बालुवाटार पुग्छन् ? देश कंगाल बनाएर तस्कर र कमिशन एजेण्टबाट लिएको घुसको अंशवण्डाको मोह हो कि लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा तयार पारिएको अकुत सम्पत्तिको डण्डाको त्रास हो भन्न सकिन्न । आजको विरोध प्रदर्शन नभएको भए देउवाले हिजो निर्धारित संवैधानिक परिषद् बैठक उपस्थिति जनाउने कांग्रेस नेताहरु बताउँछन् । उनी आईजीपी बनाउन नसकिएका पूर्वएआइजी जयबहादुर चन्दलाई अख्तियारमा आयुक्त बनाउन लालयित छन् । प्रधानमन्त्री ओली अख्तियारमा पूर्वसचिव प्रेमकुमार राईलाई उभ्याएर माधव नेपाल र प्रचण्डहरुमाथि डण्डा वर्षाउन उत्सुक छन् । २०१७ सालको काण्डपछि राजा महेन्द्रले नेपाली कांग्रेसका नेता सुवर्ण समशेरको ललिता निवासले चर्चेको २९९ रोपनीजग्गा जफत गरी जन्मकैदको सजाँय पाएका सुवर्ण र मृत्युदण्डको सजाँय तोकिएका उनका छोरा कञ्चन समशेरको अंशको जग्गाको क्षतिपूर्ति दिएर अधिग्रहण गरिएको हो भन्ने झूठको पुलिन्दाको प्रतिवेदन तयार पार्न लगाई माधवकुमार नेपाललाई बालुवाटार प्रकरणमा मुछेर सिध्याउने खलनायकको भूमिका यिनै प्रेमकुमार राईले खेलेका थिए ।

प्रहरी हिराशत पुगेर रामचन्द्रले कांग्रेसको अस्तित्वबोध गराएका छन् तर पार्टी सभापति देउवाले अर्को चुनावसम्म पार्टीको अस्तित्व जोगाउन सक्छन कि सक्दैनन् ? भन्न सक्ने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस्